खोटाङ, मंसिर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खोटाङको ऐलेलुखर्कमा शाखा कार्यालय स्थापना गर्ने भएको छ । बैंकले शाखा कार्यालय स्थापनाका लागि घर बहालमा लिन बोलपत्र आह्वान समेत गरेको छ । हाम्रोखोटाङ डटकममा सूचना प्रकाशित गरेर बैंकले एक महिना भित्र बुझाउने गरी बोलपत्र आह्वान गरेको छ ।
घर बहालमा दिन इच्छुक घरधनीले पुस ९ गते अर्थात सूचना प्रकाशित भएको मिति ९ मंसिरदेखि एक महिना भित्र शाखा कार्यालय दिक्तेलमा बोलपत्र बुझाउन सक्नेछन् । ३१ औं दिनमा बोलपत्र खोलिने बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय विराटनगर प्रमखु गोपाल पौडेलले स्थानीयको मागलाई मध्यनजर गर्दै उनीहरुलाई सहुलियत होस् भन्ने उद्देश्यले बैंकले आफ्नो सेवा विस्तार गर्न लागेको जानकारी दिए । बैंकको शाखा स्थापनापछि त्यस क्षेत्रका स्थानीय लाभान्वित हुने उनी बताउँछन् । यसअघि सो क्षेत्रमा बैंकको शाखा खोल्न माग हुँदै आएको थियो ।
खोटाङ जिल्लामा राष्ट्रिय वाणिज्य बैंकले दिक्तेल र खोटाङ बजारमा आफ्नो शाखा स्थापना गरेर सेवा दिँदै आएको छ ।
नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको देशभर डेढ सय भन्दा बढी शाखा कार्यालय रहेका छन् । बैंकको करिब १८ लाख भन्दा बढी ग्राहक रहेको बैंकले जनाएको छ ।
बैंकको काठमाडौं क्षेत्रमा ३६, विराटनगर क्षेत्रमा ३६, वीरगन्जमा १७, पोखरा क्षेत्रमा २८, नेपालगञ्ज क्षेत्रमा ३१ शाखा कार्यालय छन् ।

बैंकका लागि घर बहाल सम्बन्धी सूचनाको विस्तृत विवरणका लागि क्लिक गर्नुहोस्