खोटाङ खोटाङ–१६, खोटाङको दिक्तेलबजारमा लामो समयदेखि रोकिएको सडक ढलान कार्य सात दिनभित्र सुचारु गर्न निर्माण कम्पनीलााई अल्टिमेटम दिईएको छ । ढलान नसकिँदा यातायात अवरुद्द हुनका साथै बिभिन्न समस्या आएको भन्दै काम सुचारु गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण कम्पनी सुर्य–बिकास जेभीलाई अल्टिमेटम दिएको हो ।
निर्माण कम्पनीलाई सोमबार पत्राचार गर्दै तोकिएको मितिभित्र काम सुचारु नगरे सम्बन्धित निकायमा कार्वाहीको लागि सिफारिस गरिने नगर प्रमुख तीर्थराज भट्टराईले उल्लेख गर्नुभएको छ । सुर्य–बिकास जेभीले दिक्तेलबजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको छ ।
सडक ढलान स्थगित हुँदा हिँडडुल गर्न समस्यादेखि सवारी दुर्घटनासम्मको जोखिम बढेको जनगुनासो छ । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गालाई समेत आवश्यक पहल गरिदिन नगरपालिकाले पत्र पठाएको नगरप्रमुख भट्टराईको भनाई छ । सडक अलपत्र हुँदा घर नै कुरुप देखिनुका साथै ब्यापार–ब्यवसायमा समेत प्रभाव परेको स्थानीय सुनाउँछन् ।
सूर्य–विकास जेभीले सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको २ करोड ७० लाख बजेटमा २०७८ चैत ८ गते सम्ममा सक्ने सर्तमा २०७८ असार ९ गते कामको सम्झौता गरेको थियो । हालसम्म सडक ढलानको भौतिक प्रगति करिब ६५ प्रतिशत मात्र देखिएको आयोजना प्रमुख तुल्सिराम खरबुजाले बताउनुभयो । निर्माण कम्पनीले भने असार मसान्तसम्ममा ढलान सम्पन्न गरिसक्ने प्रतिबद्दता जनाएको छ ।
मानव अधिकार चोकबाट बेसक्याम्पसम्मको खण्डमा गत असोज २२ गते राति ढलान सकिएको थियो । बेसक्याम्पदेखि नेपाल टेलिकमसम्मको सडक ढलान गर्न फराकिलो पार्न थालिए पनि अपेक्षित काम भने नभएको स्थानीयले बताएका छन् ।।