खोटाङ जेठ–१५, पन्ध्रौं गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय खोटाङमा रहेका ६ कैदीको सजाय मिनाहा गरिएको छ । ४० र ५० प्रतिशत कैद भुक्तान गरिसकेका कारागार कार्यालय दिक्तेलका कैदीहरुको बाँकी सजाय मिनाहा गरिएको हो ।

असल चाल–चलनका आधारमा कर्तव्य ज्यान मुद्दामा ५० प्रतिशत कैद सजाय भुक्तान गरेका केपिलासगढी गाउँपालिका–७ सुङदेलका सानकुमार राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका कैलासबहादुर राईको बाँकी सजाय मिनाहा भएको छ । यस्तै, सोही मुद्दामा ५० प्रतिशत नै सजाय भुक्तान गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पुर्णकुमार तामाङ र रावाबेंशी गाउँपालिका–६ हौंचुरका रामचन्द्र राईको सजाय मिनाहा भएको कारागारका निमित्त जेलर सोमप्रसाद आचार्यले बताउनुभयो ।

जिल्ला कारागारबाट ज्यान मार्ने उद्योग मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका मनोज राई र ज्यान मार्ने उद्योगकै मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका टिक्लु भनिने मिलन राईको पनि सजाय मिनाह भएको जेलर आचार्यले जनाउनुभयो ।