खोटाङ जेठ–१३, नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा खोटाङका पत्रकारहरुको लागि निःशुल्क आँखा जाँच तथा आवश्यक चस्मा वितरण गरिएको छ । प्रेस युनियन जिल्ला शाखा खोटाङले जिल्ला अस्पतालसँगै रहेको दिक्तेल आँखा उपचार केन्द्रमा उक्त ब्यवस्था मिलाएको हो ।

नेपाल नेत्र ज्योति संघ खोटाङको संयोजनमा आयोजित कार्यक्रममा २१ जना क्रियाशील पत्रकारहरुले आँखा जाँच गराएको युनियनका जिल्ला अध्यक्ष उत्तम चौंलागाईंले बताउनुभयो । जसमध्ये १३ जनालाई आवश्यक्ता अनुरुपको पावर भएको चस्मा पनि बितरण गरिएको अध्यक्ष चौंलागाईंको भनाई छ ।

पत्रकारहरु अनिबार्य कम्प्युटर तथा मोवाईल अगाडी रहनुपर्ने भएकाले आँखा कमजोर हुने समस्यालाई मध्येनजर गर्दै आँखा जाँच र चस्मा बितरणको कार्यक्रम तय गरिएको प्रेस युनियन खोटाङले उल्लेख गरेको छ । पत्रकारहरुको आँखामा आउन सक्ने समस्यालाई मध्येनजर गर्दै े रचनात्मक अवधारणाका साथ कार्यक्रम तय गरिएकोमा जिल्लाका पत्रकारहरुले युनियनको प्रशंसा गरेका छन् ।

नेपाली कांग्रेस निकट पत्रकार संगठन नेपाल प्रेस युनियन जिल्ला शाखाको उक्त कार्यक्रममा नवनिर्वाचित मेयर तीर्थ भट्टराई, प्रेस सेनानी कृष्ण आचार्य लगायत जिल्लाका अग्रज पत्रकारहरुले शुभकामना दिनुभएको थियो । प्रमुख अतिथि मेयर भट्टराईको आँखा जाँच गर्दै चस्मा प्रदान गरी कार्यक्रम अघि बढाईएको थियो ।।