खोटाङ जेठ–४, खोटाङको सैभन्दा ठूलो नगरपालिका दिक्तेल रुपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । गठबन्धनकातर्फबाट उठेका कांग्रेसका मेयरका उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बिसन राई विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१५ वटा वडा भएको नगरमा भट्टराईले एमालेका मेयरका उम्मेदवार कुमार आचार्यलाई ४ हजार ३ सय ९३ मतले पछि पार्दै मेयरमा बिजयी बनेको जनाईएको छ । भट्टराईले ११ हजार ३ सय ८९ मत पाउँदा आचार्यले ६ हजार ९ सय ९६ मत पाएको कार्यालयले जनाएको छ । उपमेयर निर्वाचित बिसनले १० हजार ४ सय ३८ मत पाउनुभएको छ ।
उपमेयरका निकटतम प्रतिस्पर्धी एमालेका बिणादेबी राईले ७ हजार ३ सय १९ मत लिनुभएको छ । बिणादेबी निवर्तमान उपमेयर हुनुहुन्छ । राप्रपाका जीवनकुमार श्रेष्ठले ४ सय १, उपमेयरका उम्मेदवार चन्द्रकुमारी राईले ५ सय ६२ र खम्बुवान राष्ट्रिय मोर्चा नेपालका सुवास राईले १० मत प्राप्त गर्नुभएको छ ।
नगरपालिकामा एमालेका तीन, कांग्रेसका चार, माओवादी केन्द्रका छ र जसपाका दुई वडाध्यक्ष निर्वाचित भएका छन् ।।