खोटाङ जेठ–३, दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा आठ गाउँपालिकाको चुनावी नतिजा आईसकेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिका बाहेक मंगलबार बिहानसम्म आएका नतिजा मिश्रित पाईएको छ ।

जिल्लाको ४ वटा पालिकामा गठबन्धन थिएन । एमाले भने सबै स्थानीय तहमा एक्लै भिडेका हुन् । आठ गाउँपालिकाको प्राप्त नतिजा अनुसार एमालेका लोकेन्द्र राई दिपु्रङ चुईचुम्मा गाउँपालिका र गिरेन्द्र राई ऐसेलुखर्क गाउँपालिका प्रमुखमा बिजयी हुनुभएको हो ।

गठबन्धनको तर्फबाट बराहपोखरी गाउँपालिकामा कांग्रेसका शालिकराम बञ्जरा, साकेला गाउँपालिकामा रबिप्रकाश राईले जीत हात पार्नुभएको छ । यस्तै, कांगे्रस एक्लै उठेको केपिलासगढी गाउँपालिकामा समिर राई र रावाबेसी गाउँपालिकामा फटिक श्रेष्ठ बिजयी बन्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले उल्लेख गरेको छ ।
गठबन्धनकै माओबादी केन्द्रबाट भने जन्तेढुंगा गाउँपालिकामा अरुणादेबी राई र खोटेहाङ गाउँपालिकामा उदिमबहादुर राईले जित्नुभएको हो ।

उपप्रमुखतर्फ कांग्रेसको तीन, एमालेको दुई, माओबादी केन्द्रका दुई र जनता समाजबादीका एकले बिजय प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कांग्रेसका उम्मेदवार खेम खड्काले जन्तेढुंगा, रुपेश राईले खोटेहाङ र राजेश राजभण्डारीले ऐसेलुखर्क गाउँपालिकामा उपप्रमुख जित्नुभएको छ ।
अन्तिम नतिजा आउन बाँकी दिक्तेल रुपाकोट मझुवागढीमा गठबन्धनबबाटै मेयरका प्रत्यासी कांग्रेसका तीर्थराज भट्टराई र उपमेयरमा माओबादीका बिशन राई अघि रहेका छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा पनि मेयरका प्रत्यासी बिमला राई र उपमेयरमा रमेश राउत अघि रहेको जनाईएको छ ।।