रातको समयमा आँखा उपचार केन्द्रको ताला फोडेर दान बाकस र दान बाकसमा संकलन भएको अनुमानित १० हजार रकम चोरी भएको आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख हरिहर श्रेष्ठले बताउनु भयो । बाकस र पैसा बाहेक आँखा उपचार केन्द्रको केही चश्मा समेत चोरी भएको केन्द्रले जनाएको छ । रोजगारिका सिलसिलामा हङकङमा पुगेर काम गरिरहेका खोटाङ्गेले स्थापना गरेको खोटाङ समाज हङकङको आर्थिक सहयोगमा जिल्ला अस्पताल परिसरमा निर्माण गरिएको पाँच कोठे आँखा उपचार केन्द्रमा आँखा शिबिरकाक्रममा आउने असहाय तथा निम्नआर्थिक स्तर भएका बिरामीको खाना तथा उपचारमा सहयोग जुटाउनकालागि दान बाकस राखिएको थियो ।
घटनाका बिषयमा खोटाङ सेवा समाज हङकङले फेसबुकमार्फत दुःख व्यक्त गरेको छ । ‘हामीले बनाएको अस्पतालको ढोका फोरेर चन्दा बाकसमा डाका मारेको खबरले हामी प्रबासी खोटाङ्गेको मन असाध्यै दुःखेको छ,’ समाजले फेसबुकमा लेखेको छ, ‘दोषीलाई पक्राउ गर्न सहयोग गरेर कारबाही गर्न जिल्लाबासी सफल हुन्, प्रशासनलाई पनि यही आग्रह गर्दछौँ ।’ दान बाकस चोरीका बिषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
जिल्लाका आँखाका रोगीहरुको उपचार जिल्लामै गर्ने व्यवस्था मिलाउने उद्देश्यका साथ नेपाल नेत्र ज्योति संघ शाखाको आग्रहमा समाजले ३० लाख ४७ हजारको लागतमा आँखा उपचार केन्द्रको भवन निर्माण गरिदिएको थियो । आँखा उपचार केन्द्रको भवन निर्माण भएपछि जिल्लाका आँखाका रोगीले सदरमुकाममै सहजरुपमा उपचार सेवा पाउँदैआएका छन् ।