खोटाङ, मङ्सिर–२९, केटाकेटीले खेलाउँदै गरेको लाईटरबाट सल्किएको आगोले घर जलेर नष्ट हुँदा खोटाङमा दश लाख बढीको क्षति भएको छ । जिल्लाको उत्तरी गाविस खार्मी–७ का दिपक विश्वकर्माको घर तथा घरमा भएका नगदसहित सामाग्री मङ्गलबार दिउँसो जलेर नष्ट हुँदा दश लाख बढीको क्षति भएको हो ।
आगोले विश्वकर्माको घर, घरमा भएका चार लाख नगद, विदेशबाट भर्खरै ल्याएको लत्ताकपडा, दश मुरी धान, छ मुरी कोदो, तीन मुरी मकै, भाँडाकुँडा, काठपात, कागजात लगायत जलेर नष्ट भएको स्थानीय शिक्षक देवकुमार राईले जानकारी दिनुभयो । घरमा कोही नभएको समयमा आगलागी भएकाले घरमा भएका कुनैपनि सामाग्री जोगाउन नसकिएको विश्वकर्मा परिवारले जनाएको छ ।
भर्खरै साउदीबाट कमाएर ल्याएको नगदसमेत जलेर नष्ट भएपछि आफूहरुको बिचल्ली भएको पीडित विश्वकर्माले बताउनुभयो । घर तथा घरमा भएका सामाग्री जलेर नष्ट भएपछि पाँच जनाको विश्वकर्मा परिवार बिचल्लीमा परेका छन् ।
यसै वर्ष संखुवासभाको खाँदबारी बसाईसराई जाने तयारीमा लागेका विश्वकर्मा परिवारको सपना घर जलेर नष्ट भएपछि चक्नाचुर भएको छ ।