खोटाङ । खोटाङको साकेला गाउँपालिकामा त्रिपक्षीय भिडन्त हुने भएको छ । आगामी ३० वैशाखमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेसहित चार जनाको उम्मेदवारी परेको छ ।

गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रबाट अर्जुनकुमार खड्का, नेकपा एमालेबाट गोपीकृष्ण खड्का र नेपाली कांग्रेसबाट रविप्रकाश राईले उम्मेदवारी दिएका छन् । मंगोलन नेशनल अर्गनाइजेसनबाट कवी राईको पनि उम्मेदवारी परेको छ ।

माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएका खड्का दोस्रो कार्यकाल अध्यक्ष बन्नका लागि उम्मेदवार बनेका हुन् । खोटाङको १० पालिकामध्ये साकेलामा मात्र माओवादीले जित हासिल गरेको थियो ।

२०७४ सालको निर्वाचनमा अध्यक्ष माओवादीबाट, उपाध्यक्ष कांग्रेसबाट र गाउँपालिकामा रहेका पाँच वटा वडामध्ये दुई वटा वडामा एमाले, दुईवटामा कांग्रेस र एक वटामा माओवादी केन्द्रले जितेको थियो ।

गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रबाट बिर्सिका राई र कांग्रेसबाट सरिता खड्का, जनता समाजवादी पार्टीबाट जयकुमार राई, एमालेबाट दिलकुमारी राईले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट उपाध्यक्षमा उम्मेदवारी दिने खड्काले दोस्रो कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् । माओवादी केन्द्रबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी राईले पनि यसअघिको निर्वाचनमा उपाध्यक्ष पदबाट चुनाव लडेकी थिइन् ।