खोटाङ वैशाख–८,

एक नम्बर प्रदेश सरकार खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय विराटनगरले खोटाङको हलेसीमा ‘सौर्य फोटोभोल्टेइक वाटर पम्पिङ सिस्टम डिजाइन’ सम्बन्धी तालिम सम्पन्न गरेको छ । प्रदेश मन्त्रालयले खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बू, भोजपुर, उदयपुर र सङ्खुवासभाका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत २४ जना इन्जिनियरहरुलाई सहभागी गराएर आयोजना गरेको तालिम सम्पन्न गरेको हो ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र जी.आई. जेड. नेपालले संयुक्त रुपमा सञ्चालित नवीकरणीय उर्जा तथा दक्षता कार्यक्रमको सहयोगमा सञ्चालित तीन दिने तालिम आज सम्पन्न भएको हे । गत मङ्गलबार एक नम्बर प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री रामकुमार राई ‘पासाङ’ले तालिमको औपचारिक उद्घाटन गर्नुभएको थियो । मन्त्री पासाङले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागी इन्जिनियहरुलाई आग्रह गर्नुभएको छ ।

हलेसीस्थित होलेसुङ रिसोर्टमा जारी तालिममा जीवन वैद्य, सर्वज्ञरत्न तुलाधर र भोला पोखरेल लगायत नवीकरणीय उर्जा सम्बन्धी विज्ञहरुले तालिमको सहजीकरण गर्नुभएको थियो ।
तालिममा सहभागी इन्जिनियरहरुलाई सौर्य उर्जा तथा विद्युतीय प्रविधिको खानेपानी एवम् सिंचाई आयोजना सञ्चालनका लागि तयार गर्नुपर्ने प्राविधिक इष्टिमेट, सौर्य उर्जा तथा विद्युत खपत, आर्थिक लगानी लगायतका बारेमा जानकारी दिइने आयोजकले जनाएको छ ।

पहाडी जिल्लाहरुमा बसोबास गर्ने हरेक स्थानीयलाई खानेपानी तथा सिंचाई सुविधा उपलब्ध गराउन पम्पिङ प्रविधिको योजना सञ्चालन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको मन्त्रालयका प्रवक्ता रमेशप्रसाद पौडेलले जानकारी दिनुभयो । तालिममा सहभागी इन्जिनियरहरुले हलेसी क्षेत्रमा सञ्चालित बृहत पम्पिङ खानेपानी आयोजनाको स्थलगत प्रतिवेदनसमेत तयार पारेका छन् ।।