खोटाङ बैशाख–५, शिल्पी थिएटर काठमाण्डौंको प्रस्तुति मुक्त रंगमञ्च ‘अलिकति उज्यालो’ले खोटाङका दिक्तेलबजारबासीको मन छोएको छ । स्थानीय आयोजक खोटाङ रंगमञ्चको संयोजनमा आइतबार साँझ दिक्तेलबजारमा प्रर्दशन गरेको सडक नाटक ‘अलिकति उज्यालो’ले मन छोएको दर्शकहरुको प्रतिक्रिया छ ।

घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको नाटकमा देशको राजनीतिक बेथिति, चुनौती र दुःखका बीचमा नागरिकबीच बाँकी रहेका आशालाई झल्काइएको छ । ४७ मिनेट लामो नाटकले आफ्नै नगरपालिकाको समस्त बिषयबस्तु समेटेको महशुष भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने दिक्तेलबजारबासीको प्रतिक्रिया छ ।

मुक्त रंगमञ्चमा स्थानीय सरकारले जनचाहना बिपरित भ्यू–टावर, पार्क जस्ता कंक्रिटका संरचना निर्माणमा जोड दिएको तर किसानलाई मल, बीउ र सिँचाई, नागरिकलाई स्तरीय स्वास्थ्य सेवा र शिक्षाको प्रवन्ध गर्नमा ध्यान नदिएको भन्दै व्याङ्ग्य गरिएको छ ।
राजनीतिक, सामाजिक र साँस्कृतिक बेथिति विरुद्ध अभियानको आवश्यकतालाई मध्यनजर गर्दै थिएटरले खुल्ला ठाउँमा सिर्जनात्मक र स्वतन्त्र रंगकर्म अभियान चलाएको जनाएको छ । शिल्पी थिएटरले विभिन्न जिल्लाका गाउँ तथा नगरमा पुग्नेगरी प्रदर्शन सुरु गरेको हो । बैसाख ३ गतेदेखि मन्थलीबाट सुरु गरिएको नाट्य यात्रा बैसाख–११ गतेसम्म सञ्चालन हुने शिल्पी थिएटरले जनाएको छ ।

‘अलिकति उज्यालो’ क्रमशः भोजपुर, धनकुटा, बसन्तपुर, च्याङथापु, इलाम, बिर्तामोड र मोरङमा प्रदर्शन गरिने छ ।
मुक्त रंगमञ्चमा पवित्रा खड्का, संगीता उराँव, मानहाङ लावती, ज्योती पोख्रेल, रविन परियार, गोबिन्द ओली, ज्याक बराल, हिमाल भुजेल, संजित थुलुङ राई, सुशीला लुहार, अजय लामा, संजय शाहीको अभिनय देख्न सकिन्छ ।

संजित थुलुङ राईको प्रत्यक्ष संङ्गीतमा सजिने नाटकको लागि मञ्च सज्जामा मानहाङ लावती, हिमाल भुजेल, ज्याक बराल, रविन परियार र गोबिन्द ओली रहनुभएको छ । यस्तै गीत कम्पोजमा पनि संजित स्वयम र स्मारिका फुयाँल हुनुहुन्छ । नाटकका लेखक तथा निर्देशक घिमिरे युवाराजले नै गीत लेख्नुभएको छ ।
भेषभुषा र कलामा भने क्रमशः बवित्रा खड्का र राजन काफ्ले रहनुभएको छ ।।