काठमाडौं ५ वैशाख । सत्ता साझेदार गठबन्धनबीच आगामी स्थानीय तहको निर्वाचनका लागि खोटाङका १० पालिकामा सिट बाँडफाँडमा सहमति जुटेको छ ।

गठबन्धन दलको आइतबार बसेको बैठकले १० वटा पालिका मध्ये ६ वटामा साझा सिट बाँडफाँड र बाँकी चार वटामा गठबन्धनभित्रै दुइ पक्षीय प्रतिस्पर्धा गर्ने सहमति भएकाे छ। सहमति अनुसार खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र ऐसेलुखर्क गाउँपालिको अध्यक्षमा नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको छ । उक्त स्थानमा उपाध्यक्ष नेपाली काग्रेसलाई दिने भएको छ ।

यसैगरी, दिक्तेल रुपकोट मझुवागढी नगरपालिका, बराहपोखरी गाउँपालिका, रावाबेसी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसलाई दिने सहमति भएको छ । बराहपोखरीको उपाध्यक्ष नेकपा समाजवादी एसले पाउने भएको छ भने दिक्तेल र रावाबेसींको उपप्रमुख र उपाध्यक्ष माओवादी केन्द्रले पाउने सहमति गरिएको छ ।

जहाँ तीन भर्सेस एक प्रतिस्पर्धा

गठबन्धन दलले सहमतिको प्रयास जारी राखेपनि हलेसी नगरपालिका, साकेला गाउँपालिका, केपिलासगढी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका भने साझा सहमति जुट्न सकेको छैन ।

नेकपा समाजवादी पार्टीका जिल्ला सचिव राजन आचार्यले उम्मेदवारी दिने समयसम्म सहमति नजुटेमा हलेसी, साकेला दिप्रुङ र केपिलासगढीमा कांग्रेसले पनि उम्मेदवारी दिने र बाँकी गठबन्धनका तीन दलले पनि साझा उम्मेदवारी दिने बताएका छन् । ‘ती चार पालिकामा पनि सहमति प्रयास गरिएको हो, सहमति नै नजुटेपछि कांग्रेसले पनि उम्मेदवारी दिने र गठबन्धनका बाँकी तीन दलले पनि साझा उम्मेदवार दिने भन्ने भएको छ ।’ उनले हाम्रोखोटाङसँग भने ।

साकेलामा माओवादी र कांग्रेसले उम्मेदवारी दिने भएपनि उपाध्यक्षमा भने दुवै पार्टीले उम्मेदवारी नदिएर जनता समाजवादी पार्टीलाई सहयोग गर्ने सहमति पनि भएको छ ।

चार पालिकामा पनि गठबन्धनको साझा उम्मेदवार बनाउने गरी छलफल भने जारी रहेको पाइएको छ । छलफलमा सहभागी एक नेताले उम्मेदवारी दिने दिनसम्म साझा उम्मेदवार बनाउने प्रयास जारी रहेको बताएका छन् ।

यता, केपिलासगढी गाउँपालिकामा नेकपा एसको अध्यक्ष र जनता समाजवादीको उपाध्यक्ष हुने र साकेलामा माओवादी केन्द्रको अध्यक्ष र जसपाको उपाध्यक्ष दिने गरी तीन दलबीच सहमति जुटेको छ ।