खोटाङ बैशाख–४, आगामी बैशाख ३० गते तोकिएको स्थानीय तहका निर्बाचन केन्द्रीत हुँदै खोटाङमा सञ्चार गृह तथा सञ्चारकर्मी अनुगमन समिति गठन गरिएको छ । निर्बाचनको अवधिमा पत्रकार आचार संहिता उल्लंघन हुने समभावना बढी हुने भएकाले तीन सदस्यीय अनुगमन समिति गठन गरिएको हो ।

मर्यादित ढंगले समाचार लगायतका सामाग्री संकलन, सम्प्रेषण तथा प्रकाशन–प्रशारण गरे/नगरेको अनुगमनका लागि जिल्लाका अग्रज पत्रकारहरु कृष्ण आचार्य, डम्बरसिं राई र दमन राईलाई समितिमा चयन गरिएको जनाईएको छ । पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय दिक्तेलबजारमा आईतबार भएको पत्रकारहरुको भेलाले सन्तुलित समाचार तथा सामाग्रीहरुमा ध्यान दिनुपर्नेमा जोड दिएको महासंघका अध्यक्ष दिलीप खत्रीले बताउनुभयो ।

महासंघ शाखाकै पहलमा भएको भेलामा निर्वाचनलाई स्वस्थ, मर्यादित, धाँदलीरहित बनाउन सञ्चार माध्यम र संञ्चारकर्मीहरु निष्पक्ष बन्नुपर्ने छलफल चलेको अध्यक्ष खत्रीको भनाई छ ।

यस्तै, सामाजिक सञ्जालहरुमा कसैको बिरोध जनाउने, खण्डन गर्ने, एकअर्कामा द्वेषभाव सिर्जना गर्ने जस्ता कार्य नगर्ने जिल्लाका सञ्चारकर्मीहरुको प्रतिबद्दता छ । जिम्मेवार सञ्चारकर्मीले सामाजिक सञ्जालमा बाद–प्रतिबाद गर्न अशोभनिय र गैरजिम्मेवार कार्य भएको भेलाले ठहर गरेको छ । ।