खोटाङ चैत्र–२३, खोटाङमा राष्ट्रिय भूमि आयोग जिल्ला समिति गठन गर्ने मन्त्री परिषदको निर्णयसँगै कार्यालय उद्घाटन र पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र १७ गते सुरेश राईको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेपछि आज बुधबार कार्यालय उद्घाटन तथा पदभार ग्रहण भएको हो ।
अध्यक्ष राईलाई पूर्व सभाषद समिता कार्र्की (अस्मिता) लगायतले पदभार गराउँदै कार्यालय उद्घाटन गरिएको समितिका सदस्य सचिब तथा जिल्ला नापी कार्यालयका प्रमुख मदन खत्रीले बताउनुभयो । नौं सदस्यीय समिति रहनुपर्ने ब्यवस्था भएकोमा नापी कार्यालयका प्रमुख सदस्य सचिब तथा जिल्ला समन्वय समितिका अधिकारी, जिल्ला प्रशासन कार्यालयले तोकेको अधिकृत, मालपोत कार्यालय प्रमुख र बन कार्यालय प्रमुख पदेन सदस्य रहने उल्लेख छ । यस्तै, महिला सदस्य, खुल्ला सदस्य र एक बिज्ञ सदस्य सिफारिस गर्न बाँकी रहेको जनाईएको छ ।
भूमि सम्बन्धी समस्या समाधान गर्नेे सरकारको योजना अनुरुप गठित आयोग अन्तर्गत जिल्ला समितिले बार्षिक कार्ययोजना बनाएर अघि बढ्ने नवनियुक्त अध्यक्ष राईको भनाई छ । कार्यक्रमका बक्ताहरुले भूमिहिन तथा अब्यवस्थित बसोबास गर्नेहरुको ब्यवस्थापनमा सबैसँग समन्वय गर्दै अघि बढ्नुपर्ने धारणा राखेका थिए । जिल्लामा त्यस्ता समस्याहरु थुप्रै रहेको र लक्षित परिवारले सुविधा नपाई रहेको सहभागीहरुको टिप्पणी छ ।
समितिको कार्यालय स्थापना गरिएको स्थान जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा पूर्व सभाषद समिता कार्कीसँगैं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, कार्यालय प्रमुख लगायतका ब्यक्तिहरुको सहभागिता थियो ।।