खोटाङ, १९ चैत । खोटाङ सेवा समाज कतारको अध्यक्षमा कैलाश श्रेष्ठ चुनिएका छन् । कतारमा ज्येष्ठ सामाजिक संस्थाको परिचय बनाएको समाजको ११ औं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

नज्माको सालिमार पाटी प्यालेसको सभाहलमा शुक्रबार सम्पन्न अधिबेसनबाट समाजको बरिष्ठ उपाध्यक्षमा डिल्लीशेर खड्का, उपाध्यक्षमा बलराम लोप्चन तामाङ र चुडामणि पुरी, महासचिवमा पर्शुराम श्रेष्ठ (पवान), उप–महासचिवमा जिबन राई, सचिबमा बलराम आचार्य, कोषाध्यक्षमा रविन शेर्पा र सह–कोषाध्यक्षमा रामकुमार मगर चयन भएका छन् । १९ सदस्यीय समाजको सदस्यमा महेश दाहाल, यादव पुरी, टीकानारायण श्रेष्ठ, सुदिप बुढाथोकी, मुकेश परियार, सरोजकाजी पाण्डे, भिमकुमार दर्जी, बुद्धिबहादुर गिरी र महिला सदस्यमा बिश्वकला राई चयन भएका छन् ।

रोजगारीमा सिलसिलामा कतार पुगेका जिल्लाबासीलाई एकताबद्ध गर्दै समस्या परेकाबेलामा हातेमालो गर्नका लागि ‘प्रवासको पसिना, स्वदेशको साकार सपना’ भन्ने नारा सहित १८ माघ २०५४ मा समाजको स्थापना गरिएको हो ।

समाजले आपत बिपतमा परेका नेपाली कामदारको उद्धार, अकालमा मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने, आखफन्त गुमाएका आश्रित परिवारलाई आर्थिक तथा संस्थागत सहयोग गर्दै आएको छ । यस बाहेक समाजले २०७४ सालमा खोटाङका लागि एक वटा एम्बूलेन्स जुटाएर हस्तान्तरण गरेको थियो । कतारमा नेपाली नियोग नहुँदा समाजले नियोगले सरह योगदान पुर्‍याएको समाजका निवर्तमान अध्यक्ष रुद्रशर्मा आचार्यले बताए ।

अधिवेशनको अवशरमा समाजले सल्लाहकार तिलाबहादुर खत्री, एकराज राई, देबराज राइस् र किरात राई आयोखा शाखा कतारलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । यस्तै, १० औं कार्यकालमा काम गरेका कार्यसमितिका पदाधिकारीलाई कदर–पत्र प्रदान गरिएको समाजले जनाएको छ ।

कार्यक्रममा दोहामा स्थापित बिभिन्न बैचारिक, साहित्यिक तथा जातीय संघसंस्थाका प्रतिनिधि, खोटाङ्गे र गैर–खोटाङ्गेको उपस्थिति रहेको थियो । कार्यक्रमको बिचबिचमा विभिन्न गित र नाच प्रस्तुत गरिएको थियो ।