खोटाङ ३ पुस । धेरै पैसा कमाउने रहर कसलाई पो हुन्न, हो सबैलाई हुन्छ । यस्तै लोभमा धेरै मान्छे गलत बाटोमा समेत लागेका थुप्रै उदाहरण छन् । केही वर्ष अगाडी ढिकुटी खेलेर रातारात धनी हुने धन्दा नै चलेको थियो, प्रहरीले गैरकानुनी धन्दाका रुपमा ढिकुटी खेल्ने र खेलाउनेमाथि कारबाही थालेपछि कोही देश नै छाडेर भागे त, कोही लुकीछिपी यतै बसे, धेरैको त घरबार नै बिग्रियो ।
यस्तैमा परिन् खोटाङकी एक चेली पनि । च्यानडाँडा गाविस वडा नम्बर १ सेखुवा घर भई हाल न्यूप्लाजामा बस्दै आएकी राई थरकी ती चेली पनि नराम्ररी ढिकुटीमा फसिन् । रातारात धनी हुने सपना देख्दा उनको लाखौं रुपैयाँ डुब्यो । त्यसपछि उनले आफन्त तथा चिनेजानेकालाई नै विभिन्न बहाना बनाएर सहयोग माग्ने र फिर्ता नगरी ठग्दै आएकी छिन् ।
गाउँघर तथा चिनजान भनेर उनलाई सहयोग गर्नेहरुले हप्ता तथा महिना दिनका लागि भनेर दिएको आर्थिक सहयोग वर्षौसम्म पनि उनले फिर्ता नदिएपछि हैरानीमा परेका छन् । वर्षौसम्म पनि आफूहरुले दिएको पैसा फिर्ता नभएपछि पीडितहरु प्रहरीमा उजुरी गर्न जाने अन्तिम तयारीमा रहेको बताउँछन् ।
गाउँकै एक पीडितले तीन वर्ष अगाडी एक हप्ताका लागि भनेर दिएको पैसा, ३ वर्षसम्म पनि फिर्ता नभएको गुनासो गरे । गाउँकै चिनजानकी मान्छे हुन्, पसलको कोठाभाडा तिर्न अलिक समस्या पर्यो, केही दिनमा नै मेरो पैसा आउँछ हप्ता दिनमा नै दिन्छु भनेर मागिन्, ती पीडितले भने, ३ वर्ष भयो, माग्दा पैसा खाएर हिड्छु भन्ने जवाफ आउँछ, सँधै ढाँटिरहिन्छन् हैरानी नै भयो अब प्रहरीकोमा जान्छु । विस्तृतमा पुनः आउनेछ ।