
खोटाङ ५ पुस । प्रहरीले जिल्लाको पश्चिमी क्षेत्रका स्थानीयले अवैधरुपमा लगाएका करोडौं मुल्य बराबरको गाँजा खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले पश्चिमी क्षेत्रका स्थानीयले व्यवसायिक रुपमा ४३७ रोपनी जग्गामा लगाएका करोडौं मुल्य बराबरको अवैध गाँजा खेती नष्ट गरेको हो ।
स्थानीयले अवैधरुपमा लगाएका गाँजा खेती नष्ट गर्न प्रहरी निरीक्षक सरोज राईको नेतृत्वमा ५० जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । “स्थानीयवासीले व्यवसायिक रुपमा गाँजा खेती गरेको जानकारी पायौं ।” उहाँले हाम्रोखोटाङ डटकमसँग भन्नुभयो, “अवैधरुपमा लगाइएको गाँजा खेती नष्ट गर्न हामीले विशेष अभियान चलाएका छौं ।”
स्थानीयले अवैध रुपमा लगाएको गाँजा खेती नष्ट गर्न प्रहरीले महिनादिनअघिदेखि विशेष अभियान सञ्चालन गरेको थियो । विशेष अभियान अन्तरगत प्रहरीले दुर्छिम, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, डिकुवा, धितुङ, मङ्गलटार लगायत गाविसका स्थानीयले अवैधरुपमा लगाएका गाँजा खेती नष्ट गरेको छ ।
अभियानका क्रममा दुर्छिम–२ मा जङ्गलको भिरमा प्लाष्टिकको बोरामा राखिएको ९० केजी तयारी गाँजा फेला पारेर जलाइएको प्रहरीले जनाएको छ । अन्यबाली कम उव्जाउ हुने सो क्षेत्रमा व्यवसायीकरुपमा गाँजा खेती मौलाउँदै गएपछि प्रहरीले नष्टका लागि अभियान चलाएको हो ।
अवैध रुपमा गाँजा खेती गर्दै आएका पश्चिमी क्षेत्रका स्थानीयले यसअघि प्रहरीलाई घुस खुवाएर बिक्रीबितरण गर्ने गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार यस वर्ष पनि प्रहरीलाई घुस खुवाउन गाँजा खेती गर्ने स्थानीयले प्रत्यक घरबाट रकम संकलन गरेका थिए ।
तराईसँगको सिमा जोडिएको पश्चिमी क्षेत्रमा गाँजा खेती गर्न व्यवसायीले खेती गर्ने समयअगावै पेश्की दिने गरेको पाइएको छ । प्रति केजी पाँच हजार रुपैयाँमा घरैबाट बिक्री हुने गाँजा खेतीका लागि व्यवसायीले ५० हजारदेखि एक लाखसम्म पेश्की दिने गरेको पाइएको छ ।
पेश्की लिएर गाँजा खेती गर्ने प्रचलन वर्षौदेखि हुँदै आएको स्थानीयको भनाइ छ । सुख्खाग्रस्त क्षेत्र मानिएको पश्चिमी क्षेत्रमा अन्यबाली प्रयाप्त उत्पादन नहुने भएपछि स्थानीयले गाँजा खेती गरेका हुन् ।
पश्चिमी क्षेत्रमा उत्पादन हुने गाँजा छिमेकी जिल्ला उदयपुर हुँदै अन्यत्र निर्यात हुने गरेको छ । यस वर्ष पाक्न नपाउँदै प्रहरीले गाँजा खेती नष्ट गरेपछि स्थानीय चिन्तित बनेका छन् ।