काठमाडौं २४ भदौं । केन्द्रमा नै पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणापछि नेकपा खोटाङ कमिटी एकताका लागि खोटाङे नेताहरु निक्कै ताते । उनीहरुले मूलभूत विषय समेत टुंग्याए तर मूल नेतृत्वमा सफलता हात पार्न सकेनन् । एकताका लागि सबै सहमति जुटिसकेको खोटाङमा नेतृत्व कसले गर्ने भन्ने विषयमा दुवै पक्ष सहमतिमा पुग्न नसक्दा खोटाङ नेकपाले सर्वसम्मत नेतृत्व चयन गर्न सकेन । अहिले पनि नेकपा खोटाङको नेतृत्व कसले गर्ने भन्ने अन्योल छ ।
एकताको विषय टुंगो लगाउन तातेका नेकपा खोटाङे नेतृत्वले जिल्ला कमिटी, पालिका संख्या बाँडफाँडको विषय सहजै टुंग्याएको थियो । तर, नेतृत्वको विषयमा पुगेपछि उनीहरु अड्किए ।
जिल्ला तहमा सहमति नजुटेपछि दुवै पक्षले प्रदेश कमिटीलाई त्यसको जिम्मा सुम्पेका छन् । स्रोतका अनुसार प्रदेश कमिटीमा गम्भीर रुपमा छलफल भएको छैन । सम्भवतः प्रदेश कमिटीले पनि केन्द्रमा नै विवाद मिलाउन सिफारिस गर्ने सम्भावना छ ।
नेकपाका केन्द्रिय सदस्य समेत रहेका सांसद तथा एमाले जिल्ला इन्चार्ज विशाल भट्टराईले पार्टी एउटै भइसकेकाले बार्गेनिङ नगरी सहमति जुटाउने प्रयास गर्दा पनि सफल हुन नसकेको जनाए । ‘अध्यक्ष कसले लिने भन्नेमा सहमति जुटेन, एक पक्षले अध्यक्ष आफूले पाउनेपर्ने र अर्कोतिर पनि अध्यक्ष आफूले पाउनुपर्ने अडान रह्यो, दुवै पक्षले दाबी नछाड्दा सहमति जुटेन ।’ उनले हाम्रोखोटाङ डटकमसँग भने ।

पूर्व माओवादी केन्द्रका इन्चार्ज ध्रुव बुढाथोकी (धिरेन) ले पनि भट्टराईले भनेकै कुरा हामीसँगको कुराकानीमा बताए । ‘हामीले पनि अध्यक्ष माग्यौं, उहाँहरुले पनि अध्यक्ष आफूहरुलाई माग्नुभयो, त्यसैले सहमति जुटेन ।’ उनले भने ।
कहाँ अड्कियो कुरा
दुवै पक्षका भनाई अनुसार दुवै पक्षले अध्यक्ष नछाड्दा खोटाङ नेकपाको नेतृत्व सर्वसम्मत हुन नसकेको स्पष्ट बुझ्न सकिन्छ । सबै विषयमा सहमति जुटाएको खोटाङे नेतृत्व जिल्लाको अध्यक्ष को भन्नेमा आएर अड्कियो । जिल्ला तहमा कुरो नमिलेपछि अहिले नेतृत्वको विषय प्रदेश तहमा पुगेको छ ।
इन्चार्ज केन्द्रले नै तोक्ने तर अध्यक्ष र सचिवमा जिल्लाले कुरा मिलाउनु पर्ने अवस्थाका कारण पनि खोटाङे नेतृत्व सहमतिमा पुग्न नसकेको बुझिएको छ । इन्चार्ज र सचिव एक पक्षलाई र अर्को पक्षलाई अध्यक्ष दिएको अवस्थामा सहमति जुट्ने सम्भावना थियो । तर, इन्चार्ज केन्द्रले नै तोक्ने भएपछि इन्चार्ज पद बाँकी राखेर अध्यक्ष र सचिवमा मात्र सहमति जुटाउने प्रयासमा जिल्ला नेतृत्वले सर्वसम्मत निर्णय लिन नसकेको हो ।
को–को छन् अध्यक्षका दाबेदार 
नेकपा खोटाङको अध्यक्ष को हुने भन्ने विषय अब प्रदेश समितिमा पुगेको छ । प्रदेशले टुंग्याउन नसके केन्द्रमा पुगेर यसको टुंगो लाग्नेछ । बाँडफाँडका क्रममा अध्यक्ष पद पूर्व एमालेको भागमा परेमा राम दंगाल र देव विक्रम राई मध्ये एक हुने सम्भावना छ । तर, दुईबीचमा विवाद देखिएको छ । दंगाल एमाले उपाध्यक्ष हुन् भने राई सचिव हुन् । 
अध्यक्ष पद माओवादी केन्द्रको भागमा परेको खण्डमा भने धिरेन सर्वसम्मत हुने निश्चित छ । यसअघि अध्यक्ष उनलाई बनाउने माओवादीले निर्णय नै गरिसकेको छ । तर, अध्यक्ष एमालेको भागमा परेको अवस्थामा सचिव माओवादीलाई पर्यो भने सुरेश राईको सम्भावना बढी छ ।

काठमाडौंमा केन्द्रित बन्यो नेतृत्व
एकताको विषयमा मूल नेतृत्वबाहेकका अन्य विषय टुंग्याएपछि नेकपा खोटाङका नेताहरु काठमाडौं केन्द्रित बनेका छन् । दुवै पक्षका संयोजक, इन्चार्जहरु, पूर्वसभाषदहरु तथा दुवै पक्षका नेताहरु काठमाडौंमा रहेको पाइएको छ ।
नेताहरुले स्थानीय तहका काम कारबाही कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नीति योजनाका विषयमा छलफललाई समेत खासै चासो नदिएको  पाइएको छ ।