खोटाङ फागुन– २६, अवैध लागूऔषध गाँजाको व्यवसायिक खेति तथा बिक्रि गर्ने खोटाङका स्थानीय धमाधम पक्राउ परिरहेका छन् । गाँजा खेति तथा कारोवार गरिरहेका हलेसी क्षेत्रका स्थानीयलाई प्रहरीले गाँजासहित नै पक्राउ गरिरहेको हो ।
झण्डै ३३ केजी गाँजासहित पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राईलाई बुधबार साँझ प्रहरीले सार्वजानिक गरेको छ । राईद्वयलाई ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले दुर्छिमस्थित बतासेघाटबाट गाँजासहित रङ्गेहात पक्राउ गरेको हो । बतासेघाट नजिकै पर्ने सुइटेखोलाको बगरमा बिक्री गर्न गाँजा लुकाएर राखेको छ भन्ने स्थानीयले दिएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाईएको छ ।

पक्राउ परेका दुवैजना विरुद्ध लागूऔषध बेचबिखन तथा कारोबार महल अन्तरगत जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जनाउनुभयोे । दुवैजनालाई अनुसन्धानका लागि सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
यस्तै, गत भदौ–५ गते १५ केजी गाजाँसहित सोही नगरपालिका–७ महादेविस्थानस्थित कात्तिकेका ५७ वर्षीय मगम राईलाई प्रहरीले उनको घरैबाट पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित पक्राउ गरेर मुद्दा चलाएको छ ।

लागूऔषध उत्पादन गर्ने उद्योग नै सञ्चालन गर्दै आएका सोही नगरपालिका–१ बाहुनीडाँडाका २१ वर्षीय सुवास राई र २३ वर्षीय अविन नेपालीलाई गत असोज–२८ गते उद्योगबाटै पक्राउ गरेको थियो । पक्राउ परेका राई र नेपालीको उद्योगबाट ठूलो मात्राका लागूऔषधको कच्चा पदार्थ बरामद गरिएको थियो । पक्राउ परेका दुवैजना विरुद्द प्रहरीले मुद्दा चलाउनुका साथै बरामद गरेको कच्चा पदार्थ नष्ट गरेको थियो ।

 

 

यस्तै ,गत चैत–४ गते सोही नगरपालिकाको वडा नं.–७ राटमाटेका केवी भनिने कुलबहादुर राईको घरबाट प्रहरीले २० केजी गाँजा बरामद गरेको थियो । गाँजा कारोबारमा संलग्न राई हाल फरार रहेका र उनीविरुद्द अदालतमा मुद्दा दर्ता गरेर उनको खोजी कार्य जारी रहेको जनाइएको छ ।

हलेसी क्षेत्रका स्थानीय बासिन्दाले अवैध रुपमा गर्दै आएका अवैध गाँजा खेती नष्ट गर्न तथा बिक्री वितरणमा रोक लगाउन जिल्ला प्रहरी कार्यालय खोटाङले अभियान नै सञ्चालन गर्दै आएको छ ।