खोटाङ । आगामी वैशाख ३० गते देशभर एकैसाथ हुने भनिएको स्थानीय तहको निर्वाचनमा खोटाङका एक लाख ४४ हजार ४७४ जनाले मतदान गर्न पाउने भएका छन् । विसं २०७४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा एक लाख २५ हजार १७८ मात्र मतदाता थिए ।

त्यसयता विभिन्न समयमा सञ्चालित फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानबाट १९ हजार २९६ नयाँ मतदाता थपिएका हुन् । जिल्लाका कूल मतदातामध्ये पुरुष ७५ हजार ४७८ र महिला ६९ हजार २६ रहेको जिल्ला निर्वाचनका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।

निर्वाचन आयोगबाट अन्तिम विवरण नआएसम्म अहिलेको तथ्याङ्कमा केही घटबढ हुनसक्ने उक्त कार्यालयले जनाएको छ । यस्तै यो वर्षको साउनयता जिल्ला बाहिरका २४५ पुरुष र २७८ महिला गरी ५२३ मतदाताले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका थिए ।

उक्त कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३४ हजार ५९९ र सबैभन्दा कम साकेला गाउँपालिकामा आठ हजार ५९३ मतदाता छन् । हलेसी तुवाचुङ नगरपालिकामा २० हजार ८५०, खोटेहाङमा १५ हजार ३४३, दिप्रुङ चुइचुम्मामा १३ हजार ६४७, ऐसेलुखर्कमा ११ हजार ४४१, केपिलासढीमा १० हजार ८५५, जन्तेढुङ्गामा १० हजार २३८, रावाबेँसीमा नौ हजार ५६३ र बराहपोखरी गाउँपालिकामा नौ हजार ३४५ मतदाता छन् ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लाका अधिकांश स्थानीय बासिन्दा फोटोसहितको मतदाता नामावली सङ्कलनमा जुटेका थिए । जिल्लास्थित कतिपय राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरोकारवाला निकायलगायतले पनि फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन जिल्लावासीलाई आह्वान गरेका थिए ।