खोटाङ, पुस-१३, प्रहरीको मूख्य काम नै दोषीलाई कारबाही गरेर पिडितलाई न्याय दिलाउनु हो । तर, कतिपय घटनामा स्वयं प्रहरीले नै दोषीलाई संरक्षण गर्नेगरेको उदाहरणहरु भेटिन्छन् । यस्तै, उदाहरण भेटिएको छ, उदयपुरको रुपटार प्रहरीचौकीमा । रुपटार प्रहरीचौकीका प्रहरी सहायक निरिक्षक हृदयनारायण चौधरीले मादक पदार्थ सेवन गरेर महिलालाई कुटपिट गर्ने आरोपितलाई समेत कारबाही गर्नुको साटो उल्टै संरक्षण गर्ने गरेको पाइएको छ । दुई महिलालाई कुटपिट गर्ने खोटाङको डिकुवा–१ का कमल राईलाई चौधरीले संरक्षण गरेको पिडित पक्षको गुनासो छ ।

चौधरी महिलालाई कुटपिट गर्ने दोषी भनिएका राईसँगै उठबस गर्ने र मादक पदार्थ सेवनसम्मका क्रियाकलापमा संलग्न हुने गरेकाले स्थानीय आजित छन् । कमलमाथि खोटाङको डिकुवा–१ की लक्ष्मी राई र उदयपुरको रुपटारकै यारीखोलाकी कला राईलाई कुटपिट गरेको अभियोग छ । स्थानीयका अनुशार मादक पदार्थ सेवन गरेर कमलले लक्ष्मीलाई असोज–१ गते राती र कलालाई मङ्सिर–२५ राती र २६ गते बिहान कुटपिट गरेका थिए ।

कुटपिट गर्ने कमलबिरुद्ध खोटाङकै च्यास्मीटार प्रहरीचौकीमा कलाको मंसिर–२८ गते उजुरी परेको दुई हप्ता बित्दा समेत उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । ‘कुटपिट गर्ने कमल असईसँग बिहान चिया र बेलुका रक्सी खाएर बस्छ,’ कलाका आफन्तले भने, ‘कारबाही गर्ने प्रहरीकै यस्तो चाला भएपछि कसको के लाग्दो रहेछ र ।’ उजुरी परेपछि कमललाई पक्राउ गर्न च्यास्मीटारबाट चार÷पाँच पटक प्रहरीको टोली डिकुवा पुगे तर कहिल्यै उनी पक्राउ परेनन् ।

प्रहरी डिकुवा पस्नु अगावै उनी सुनकोसी तरेर उदयपुरको रुपटार पुग्ने गरेको श्रोतको भनाई छ । प्रहरी पुग्न अगावै रुपटार जाने गरेका उनी राती मात्र घर आउने गरेको स्थानीय बताउँछन् । डिकुवाबाट भागेर रुपटार तर्ने कमललाई पक्राउ गर्न रुपटार प्रहरीलाई आग्रह गर्दा ‘बिना उजुरी’ पक्राउ गर्न नमिल्ने भन्दै पन्छिने गरेको च्यास्मीटार प्रहरीको भनाई छ ।

प्रहरीचौकी रुपाटारकै असहयोगका कारण सोही क्षेत्रमा आश्रय लिने कमललाई पक्राउ गर्न नसकिएको च्यास्मिटार प्रहरीचौकीका प्रहरी नायव निरीक्षक नीरकुमार राईले बताउनु भयो । ‘हामी पक्राउ गर्न जाँदा कमल सँधै रुपटार पुगेको हुन्छ,’ राईले भन्नुभयो, ‘रुपटार पुग्दा हाम्रै साथीहरुले जानकारी छैन भन्छ, सा¥है दुःख पाईयो ।’ रुपटार क्षेत्रमा बस्ने सुराकीका आधारमा कमलको पक्राउमा पुस–३ गते पुगेका प्रहरी नायब निरिक्षक राई रित्तो हात फर्कनु परेको बताउँछन् ।

च्यास्मीटार प्रहरीले पक्राउनकालागि खोजी सुरु गरेपछि पछिल्लो समय प्रहरी सहायक निरिक्षक चौधरीले उल्टै कमलको उजुरी परेको भन्दै कलालाई प्रहरीचौकीमा बोलाउन थालेको उनका भाई रसकुमार राईले बताउनुभयो । श्रोतका अनुसार चौधरीले कलालाई मिल्नकालागि चौकीमा बोलाउँदै कमलसँग बसेर मादक पदाथै सेवन गर्ने गरेका छन् । तीन दिनसँगै बसेका कमल शुक्रबार मात्र चौधरीसँग छुटेको श्रोतको भनाई छ । ‘मिलापत्रकालागि चौकीमा आइज, लिन आउन नपरोस् भन्ने गरेको छ,’ कलाका आफन्तले थपे, ‘रातका समयमा कुटाई खाएकोबेलामा प्रहरीले उल्टै हामीलाई नै पक्राउ गर्न खोजिरहेको छ ।’ प्रहरी सहायक निरिक्षक चौधरीले भने कला बिरुद्ध कमलको उजुरी परेकाले बोलाइएको बताउनु भयो । ‘हामीसँग कला बिरुद्ध उजुरी परेकाले छलफलमा बोलाएका हौँ,’ चौधरीले भन्नुभयो, ‘तर कमललाई पक्राउ गर्न कहीँबाट निर्देशन आएको छैन ।’ 

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सरोज राईले पिडितबाट आएको गुनासोका बिषयमा उदयपुर प्रहरीलाई जानकारी गराएको बताउनुभयो । ‘यस बिषयमा जिल्ला प्रहरी कार्यालय उदयपुरलाई खबर भइसकेको छ,’ प्रहरी निरिक्षक राईले भन्नुभयो, ‘आरोपित कमललाई पनि पक्राउ गरेर जिल्ला पठाउन भनेका छौँ ।’