खोटाङ फागुन–४, खोटाङमा पहिलो पटक निर्माण भएको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कको उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा निर्माण सम्पन्न सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कको मंगलबार उद्घाटन गरिएको हो ।

मासिक ३ लाख रुपैंयाँ राजश्व सङ्कलन गर्ने स्रोतका रूपमा सञ्चालन गर्ने गरी झण्डै ४ करोड ३८ लाख रुपैंयाँ बजेटमा कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नेपाल सरकार, सँस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयसँगको साझेदारी कार्यक्रम अन्तरगत निर्मित संरचनाको उद्घाटन नगर प्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेबी राईले गर्नुभएको हो ।

एउटै छानामुनि नुनदेखि सुनसम्म उपलव्ध गराउने लक्ष्यले कम्प्लेक्सको अवधारणा ल्याईएको मेयर रिजालको भनाइ छ । तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा ५ वटा स्टल र एउटा रेष्टुरेण्ट हल तथा पछाडीपछि स्विमिङ पुलसहितको चिल्ड्रेनपार्क निर्माण गरिएको छ ।

माथिल्लो तलाको स्टलमा मःम, कफीसप, रेष्टुरेन्ट जस्ता स्टल रहने जनाईएको छ । सपिङ कम्प्लेक्सको तल्लो तलाको सटरहरुमा कोशेलीघर, नगरपालिकाको तरकारी, जिल्लाका कृषकले उत्पादन गरेका कृषि उपज सङ्लन केन्द्रलगायतका कक्ष राखेर अन्य कोठा व्यावसायिक प्रयोजनकै लागि भाडामा लगाइने नगरप्रमुख रिजालले बताउनुभयो ।
पछाडिपट्टीको भागमा केटाकेटी खेल्ने स्वीमिङ पुल, पिङ लगायतका संरचनासहितको आकर्षक पार्क निर्माण गरिएको छ ।
गत २०७८ वैशाख–२६ गते सम्झौता गरिएको उक्त कम्प्लेक्स तथा चिल्ड्रेनपार्क आगामी २०७९ वैशाख २६ गते वर्ष दिनभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । दिक्तेल बजारमा चिल्ड्रेन पार्कसहितको सपिङ कम्प्लेक्स निर्माण हुनुले नगरपालिकाको मात्र नभइ जिल्लाकै आर्थिक तथा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो ।

मन्त्रालयको दुई करोड ५७ लाख र नगरपालिकाको रु एक करोड ८० लाख ८४ हजार ७ सय ५१ लगानी भएको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क उमा–लामा–अनशुवी जेभीले निर्माणको जिम्मा लिएको थियो । उद्घाटन कार्यक्रममा निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधि सुनिल राईले नगरप्रमुख रिजाललाई सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कको साँचो हस्तान्तरण गर्नुभयो । ,