खोटाङ, पुस-१४, खोटाङमा सवल परियोजना र गैर–सरकारी संस्था महासंघको कार्यालयमा लगाइएको ताला सहजकर्ताको अभावमा हप्ता दिन बित्दा समेत खुल्न सकेको छैन । तालाबन्दीको समस्या हल गर्न प्रशासनको समन्वयकारी भूमीकाको अपेक्षा गरेका तरुण दल, युवा संघ, नेबिसंघ र अनेरास्वबियु अहिले अन्यौलमा परेका छन् । तालाबन्दीका बिषयमा प्रशासनले एक ठाउँमा राखेर सहमतीकालागि समन्वय नगरिदिएपछि उनीहरु पनि चुपचाप छन् । संस्था छनौटमा अपारदर्शीताको कारण देखाउँदै युवा संघ र अनेरास्वबियुले सबल परियोजनाको कार्यालयमा पुस–७ गते र त्यसको प्रत्यूत्तरमा तरुण दल र नेबिसंघले गैर–सरकारी संस्था महासंघको कार्यालयमा दोश्रो दिन तालाबन्दी गरेका थिए ।

तालाबन्दीका कारण गैससको नयाँ संस्था दर्ता तथा नबीकरणका काम ठप्प छ । यस्तै, सबलको दैनिक काम समेत प्रभाबित छ । तालाबन्दीमा उत्रन लागेको अवस्थामा ‘केही दिन पर्खन’कालागि गरेको आग्रहलाई युवा तथा बिद्यार्थी संगठनले बेवास्ता गरेका कारण प्रशासनले पनि सहजीकरणमा चासो नदेखाएको हो । तरुण दल, युवा संघ, नेबिसंघ र अनेरास्वबियुका प्रमुखबीच पुस–९ गते आफ्नै पहलमा वार्ता गरेपनि फलदायी हुन सकेन । ‘तालाबन्दीको समस्य हल गर्न प्रशासनको समन्वय गरिदेलान् भन्ने अपेक्षा थियो,’ नेबिसंघका सभापति राजकुमार राईले भने, ‘ताला खुल्न केही समय लाग्ने देखिएको छ ।’ प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले सबल परियोजनाको माथिल्लो स्तरका प्रमुख तथा प्रतिनिधि नआएसम्म तालाबन्दीका बिषयमा छलफल नहुने बताए । ‘प्रशासनकातर्फबाट तालाबन्दी नगर्न आग्रहगर्दा सुनुवाई भएन,’ प्रजिअ खड्काले भने, ‘अव सवलको प्रमुख प्रतिनिधि आउँदैछ त्यसपछि सबैकोबीचमा छलफल हुन्छ।’

गत असोज–१ गते भएको बैठकमा परियोजनाको टिम र जिल्लास्थित सरोकारवालाबीचमा अर्को संयुक्त बैठक गर्ने र त्यतिञ्जेल परियोजनाको गतिबिधि नगर्ने सहमती गरिए पनि परियोजनाले आफ्नो गतिबिधि बढाएकाले ताला लगाउनु परेको युवा संघका अध्यक्ष दिनेश राईले बताए । युवा संघ र अनेरास्वबियुले समझदारी बिपरित एमालेलाई बेवास्ता गरिएको बताएका छन् । तरुण दलका कार्यबाहक सभापति भिषण राईले भने एमालेको भातृसंस्थाकोरुपमा सबलको कार्यालयमा तालाबन्दी गर्न आन्तरिक भूमीका निर्वाह गरेकाले गैर–सरकारी संस्था महासंघको कार्यालयमा ताला लगाएको बताए । एमाले निकटका संस्थालाई परियोजना नपरेकै आधारमा सबलको कार्यालयमा ताला लगाउन सघाएकाले महासंघको कार्यालयमा ताला लगाइएको उनको भनाई छ ।