कोभिड–१९ को महामारीलाई मध्येनजर गर्दै बन्द गरिएको खोटाङको हलेसी मन्दिर प्रवेश खुला गरिएको छ । कोभिड–१९ को तेस्रो लहरको महामारी सुरु भएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मन्दिरको गेटमा गत ७ माघमा ताला लगाइएको थियो ।

कोभिड–१९ को संक्रमण दर कम हुँदै गएपछि १ फागुनबाट त्रि-धार्मिकस्थल हलेसी मन्दिर प्रवेश खुला गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ । एक पटकमा २५ जना मात्र प्रवेश गर्न पाउने, सबैले अनिवार्य मास्क प्रयोग गर्ने, भिडभाड नगर्ने शर्तमा मन्दिर प्रवेश गर्न दिन थालिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा ५ माघमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकको निर्णयअनुसार हलेसीको गेटमा तेस्रो पल्ट ताला लगाइएको थियो । पूर्वको पशुपतिनाथका रुपमा चिनिने हलेसीमा दैनिक बिहान र बेलुका हुँदै आएको पूजालाई भने निरन्तरता दिने गरी गेटमा ताला लगाइएको थियो ।

हलेसी मन्दिरको गेटमा ताला लागेको समयमा दर्शनार्थीले गेटभन्दा बाहिरबाटै दर्शन तथा पूजापाठ गरेका थिए । हलेसी मन्दिरको गेटमा लागेको ताला खुलेपछि दर्शनार्थीको आवागमन बढ्ने र व्यवसायमा सकरात्मक प्रभाव पर्नेमा होटल व्यवसायी उत्साहित छन् । कोभिड–१९ को महामारीका क्रममा बन्द गर्नु अगाडि हलेसी गुफा कहिल्यै बन्द भएको थिएन ।