खोटाङ माघ–१९,  खोटाङको दुई स्थानीय तह जोड्ने सडकखण्डबीचमा पर्ने निर्माणधिन मोटरेवल पुल ढलानको तयारीमा रहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिकाको बास्पानी जोड्ने तापखोलाको पक्की पुल ढलानको तयारी गरिएको हो ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय १ नम्बर प्रदेश यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यक्रम उदयपुरको लगानीमा उक्त पुल निर्माणको काम शुरु गरिएको हो । भ्याटसहित सात करोड ६१ लाख २४ हजार ५ सय ४३ रुपैंयाँ बजेटमा पूरा गरिने पुल ३५ मिटर लम्बाई र ८ दशमलब ४० मिटर चौडाईको हुने जनाइएको छ । रौता–रोशन–सुशम–आदित्य जेभीले निर्माणको काम जिम्मा लिएको मोटरेबल पक्की पुल सम्पन्न गर्नुपर्ने मिति गत २०७८ मङ्सिर–७ गते सम्पन्न गर्ने समझौता थियो । पूर्वाधार विकास कार्यक्रम उदयपुरले पुनः छ महिनाको समय दिएको छ ।

तोकिएको मितिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइए पनि कोरोना भाइरसका कारण समयमा सम्पन्न गर्न नसकिएको ठेकेदार कम्पनीका प्रतिनिधि लक्ष्मण बस्नेतले बताउनुभएको छ । आगामी चैत मसान्तभित्र सम्पूर्ण काम सम्पन्न गरेर हस्तान्तरण गर्ने योजनामा उहाँको प्रतिबद्दता छ ।

तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न गर्न र गुणस्तर कायम गर्न निर्माण कम्पनीलाई निर्देशन दिईरहेको प्रदेशसभा सदस्य एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्यूरो सदस्य राजन राईले बताउनुभयो ।।