खोटाङ १७ माघ । खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदिप राई र उपाध्यक्ष कविता राईले टेलिफोन सुविधामा तोकिएको सुविधा लिएर पनि १२ हजार हिनामिना गरेको खुल्न आएको छ ।

महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदनले १२ हजार बढी लिएको उल्लेख गर्दै असुल गर्न भनेको पाइएको हो ।

गाउँपालिका पदाधिकारी सम्बन्धी ऐन २०७५ को अनुसूचि १ क बमोजिम अध्यक्ष तथा उपाध्यक्षले टेलिफोन सुविधा वापत मासिक २५ सय ले वार्षिक ३० हजार हुनुपर्ने र दुई जनाको गरेर ६० हजार हुनुपर्नेमा उनीहरुले ३६ हजारका दरले ७२ हजार भुक्तानी लिएर १२ हजार बढी लिएको पाइएको हो ।

सामान्यतयः बेरुजु अन्तर्गत असुल उपर गर्नुपर्ने रकम पालिका पदाधिकारीहरुमा कमै हुने गरेपनि खोटेहाङका अध्यक्ष र उपाध्यक्षमा भने यस्तो देखिएको हो ।

बेरुजु बढेको बढ्यै

महालेखाको वार्षिक प्रतिवेदन २०७५ अनुसार ७० लाख ५९ हजार बेरुजु देखिएको छ । त्यस अगाडी ४८ लाख बेरुजु रहेको महालेखाको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०७५/७६ मा बेरुजुको मात्रा झनै उकालो लागेको पाइएको छ । उक्त आर्थिक वर्ष बेरुजु बढेर १ करोड ४६ लाख ९७ हजार पुगेको छ । जसमा २१ लाख १६ हजार असुल गर्नैपर्ने रकम हो भने १ करोड २३ लाख ६ हजार प्रमाण र कागजान बिना उपलब्ध गराएको रकममा देखिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा आईपुग्दा बेरुजु बढेर ३ करोड २ लाख ३ हजार पुगेको देखिन्छ । जसमा असुल गर्नुपर्ने रकम नै ३९ लाख १२ हजार देखिन्छ । करिब ८० लाख भने कागजात र प्रमाण बिना उपलब्ध गराएको रकम देखिएको छ । गाउँपालिकाले बेथिति, अनियमितता रोकेर नियम संगत काम कारबाही अघि बढाएर बेरुजु रोक्नेमा लाग्नुपर्नेमा हरेक वर्ष बेरुजुको मात्रा झन् उकालो लागेको पाइएको हो ।

अनियमितता रोक्न अध्यक्ष असफल

गाउँपालिकामा वषेर्नी बेरुजु बढेर जाँदा पनि गाउँपालिका अध्यक्ष प्रदिप राई यसको नियन्त्रण गर्न असफल देखिएका छन् । हरेक वर्ष तिब्र रुपमा बेरुजु बढ्नु र बेरुजु बढीरहँदा पनि यसको नियन्त्रणमा नलाग्नुले उनी बेरुजु नियन्त्रणमा भने पूर्ण असफल जस्तै देखिएका छन् । कतिपय अवस्थामा गाउँपालिकाका पदाधिकारीकै नाममा बेरुजु देखिएको छ भने रकम असुल गर्नुपर्ने नाममा पदाधिकारीहरुको समेत नाम जाेडिएकाे पाइएकाे छ ।