माघ । नेकपा एमाले खोटाङले जिल्लामा सञ्चालित विकासका पूर्वाधारहरुको निर्माणका कामलाई तीव्रता दिन प्रशासनको ध्यानाकार्षण गराएको छ ।  जिल्लामा निर्माणाधीन विकासे योजनाको काममा ढिलासुस्ती हुनुका साथै गुणस्तरहीन भएको भन्दै तत्काल गुणस्तरीय कामलाई तीव्रता दिलाउन एमाले खोटाङले प्रशासनको ध्यानाकार्षण गराएको हो ।

विकास निर्माणमा ढिलासुस्ती भएको भन्दै एमाले खोटाङका अध्यक्ष रामप्रसाद दङ्गाल लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहललाई ध्यानाकार्षणपत्र बुझाएको छ । एमाले खोटाङले विकासका पूर्वाधारहरुको निर्माण कार्यमा भएको बेवास्ता, ढिलासुस्ती, गैरजिम्मेवारीपन, अनियमितता र दिक्तेलस्थित मालपोत कार्यालयको सेवा प्रवाहमा आएको ढिलासुस्ती र अनियमितताका बारेमा निस्किएको जनगुनासो साथै अन्य विभिन्न सरकारी कार्यालयहरुले दिने सेवा सेवा प्रवाहमा देखिएको लापरवाही र ढिलासुस्तीप्रति प्रशासनको ध्यानकार्षण गराएको हो ।

एमाले खोटाङले फोक्सिङ्टारको निर्माणधीन मोटरेबल पुल, महुरे–फोक्सिङ्टार–गाईघाट सडक, दिक्तेल अस्पताल चोक–खानीडाँडा–आहाले सडक, जाल्पा–ऐसेलुखर्क–बाक्सिला सडक, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने पङ्खु–लप्से मोटरेबल पुल लगायतका पुलहरु, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगतको निर्माणाधीन सेखुवा सडक, विभिन्न पालिकाहरुमा बन्न शुरु भएका स्वास्थ्य संस्थाहरु, हलेसी बृहत खानेपानी लिफ्टिङ योजना, साप्सुखोला लिफ्टिङ खानेपानी योजना, दिक्तेल अस्पताल चोक साप्सुखोला–खोटाङबजार पाँचधारे सडक आयोजना लगायतमा ढिलासुस्ती तथा अनियमितता भएको जनाएको छ । एमालेले बुझाएको ध्यानाकार्षणपत्रमा भनिएको छ “नेपाली जनताको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानको रक्षाका खातिर र खोटाङ्गे जनताले सहजरुपमा पाउनुपर्ने सेवा प्रवाहमा आएको गतिरोधलाई अन्त्य गर्ने नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ सम्बन्धित पक्षलाई सचेत रहन हार्दिकतापूर्वक आग्रह गर्दछ ।”

ध्यानाकार्षणपत्रमा जनसरोकारका विषयमा भएका ढिलासुस्ती, लापरवाही, बेवास्ता, र अटेरीपनको तत्काल अन्त्य गर्नसमेत भनेको छ । निर्माण व्यवसायीहरुलाई नियमअनुसार कानूनी दायरामा ल्याइ विकास निर्माण कार्यलाई तीव्रता दिन र अपुरा रहेका कामहरुको पूणर्ताका लागि पहल गर्न प्रशासन र नेपाल सरकारसँग माग गरेको छ ।

 

यदि हाम्रो मागलाई बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्न बाध्य हुने अध्यक्ष दङ्गालले हस्ताक्षर गर्नुभएको ध्यानाकार्षणपत्रमा उल्लेख गरिएको छ । जिल्लामा भएका विकास निर्माणका काममा भएका ढलासुस्ती लगायतका विषयमा प्रशासनले एक्सनको रुपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

केहि वर्ष अगाडि एमाले खोटाङले जयरामघाटस्थित दूधकोशी पुल र घुर्मीको सुनकोशी पुल निर्माणमा भएको ढिलाइका बारेमा सडक विभागमा धर्ना दिएको थियो । त्यस बेला दर्जन बढी नेता गिरफ्तारमा परेका थिए ।

यता, एमालेले बुझाएको ध्यानाकार्षणपत्र बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी दाहालले विकासे योजनामा भएको ढिलासुस्तीका बारेमा प्रशासन गम्भीर रहेको बताउनुभएको छ । प्रजिअ दाहालले प्रशासनको श्रेत्रबाट गर्नुपर्ने पहलका बारेमा आफू प्रतिवद्ध रहेको बताउनुभयो ।