खोटाङ,
केपिलासगढी गाउँपालिकाको आफ्नै भवन सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहजता आएको छ । बाक्सिला बजार नजिकै रहेको आफ्नै नवनिर्मित प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह शुरु भएपछि सहजता आएको जनाईएको हो ।

गाउँपालिकाको एक करोड ७६ लाख ५४ हजार ९ सय २० रुपैंयाँ लागतमा निर्माण सम्पन्न गरिएको तीन तला भएको १३ कोठे सुविधा सम्पन्न प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह शुरु गरेको हो ।

सभाहलसहितको नवनिर्मित प्रशासनिक भवनमा स्वास्थ्य, कृषि र पशु शाखाबाहेक सबै विषयगत शाखा, उपशाखाहरू समेटिएको जनाइएको छ । सेवा लिन गाउँपालिका आउने महिला र पुरुषको लागि छुट्टाछुट्टै नौँवटा सौचालयसमेत रहेको गाउँपालिकाको प्रशासनिक कार्यालय भवन उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो ।

गाउँपालिकाबाट आर्थिक वर्ष २०७५-०७६ देखि बहुवर्षीय योजना बनाएर विनियोजन गरिएको बजेटमार्फत सुविधा सम्पन्न प्रशासनिक कार्यालय भवन निर्माण गरिएको प्रमुख प्रशासकीयक अधिकृत छवि राईले जानकारी दिनुभयो । नवनिर्मित प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह शुरु गरेपछि सेवाग्राहीलाई समेत सहज भएको महसुस गरिएको जनाईएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने बाक्सिला बजारमा केपिलासगढी गाउँपालिकाको केन्द्र स्थापना भएको करीब पाँच वर्षसम्म तत्कालीन बाक्सिला गा.वि.स. र पृथ्वी माविको जीर्ण भवनबाट गाउँपालिकाको सम्पूर्ण सेवा प्रवाह हुँदै आएको थियो ।

निर्माण शुरु गरिएको करीब चार वर्षमा सम्पन्न गरिएको प्रशासनिक भवन गाउँपालिका प्रमुख कृष्णकुमार राई र उपप्रमुख हीराकुमारी वन (गिरी)ले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नुभएको प्रेस सेन्टर नेपाल खोटाङका सहसचिव कोशीकुमार राईले जानकारी दिनुभयो ।

नवनिर्मित प्रशासनिक भवनमा गाउँपालिका प्रमुख, उपप्रमख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा एट्याच ट्वाइलेट र वाथरुम समेत रहेको छ । सेवाग्राही तथा अन्य कर्मचारीका लागि तीनवटै तलामा महिला र पुरुष छुट्टाछुट्टै सौचालय राखिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

पुरानै भवनमा सञ्चालित स्वास्थ्य, कृषि र पशु शाखाका लागि समेत नयाँ व्यवस्था मिलाउने काम भइरहेको गाउँपालिकाले जनाएको छ । उक्त शाखाहरुको लागि नवनिर्मित भवन नजिकै रहेको पशु सेवा केन्द्रको भवन मर्मत गर्ने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो ।।