खोटाङ २८ पुष । कृषि ज्ञान केन्द्र खोटाङले आलु ब्लक अन्तर्गतको अनुदान छनोट गर्न ढिलाई गरेको पाइएको छ । खोटाङका विभिन्न ठाउँमा किसानले आलु रोप्ने तयारी गरिसक्दा समेत ज्ञान केन्द्रले भने छनोट गरेकाे छैन । आलु ब्लकका लागि आवेदन परेका कृषकहरुको सर्ट लिष्टिङ गरेसँगै फिल्ड सर्भेसम्मको काम सम्पन्न भइसकेको पाइएको छ । तर, कहाँका कृषकका लागि यो वर्ष अनुदान दिने भन्ने निर्णय भने भएको छैन ।

प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय अन्तर्गतको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरि नारायण राईले अब चाँडै छनोट गरिने बताएका छन् । ‘के के कामले गर्दा अलिक ढिलाई भइरहेको छ, अब चाँडै छनोट गर्छौ ।’ उनले हाम्रोखोटाङसँग भने ।

यसअघि क–कसले पाए ?

कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरि नारायण राई आलु ब्लक अन्तर्गतको कार्यक्रम २०७६/७७ मा सुरु गरिएकाे बताउँछन् । २०७६/७७ मा साकेला गाउँपालिका अन्तर्गत खिदिमाको साकेला अर्गानिक आलु ब्लक समूहले २५ लाख प्राप्त गरेको थियो । यस्तै, सोही आर्थिक वर्षमा खोटेहाङको आलु ब्लक सञ्चालन समितिले पनि अनुदान पाएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा पनि कृषि ज्ञान केन्द्रले यी नै दुवै समूहलाई अनुदान बाँडेको थियो । प्रमुख राईका अनुसार साकेला अर्गानिक आलु ब्लक समूहले ११ लाख पाएको थियो । खोटेहाङको आलु ब्लक सञ्चालन समिति भने सम्झौता गर्न नै नआएको राईले बताएका छन् । चालु आर्थिक वर्षको लागि भने छनोट हुन बाँकी छ ।