खोटाङ, पुस–१९, जिल्लाको उत्तरी गाविस खार्पाको एउटा जीर्ण भवनमा चारवटा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । आफ्नो कार्यालय भवन अभावमा गाविस, स्वास्थ्यचौकी, हुलाक र सहकारी संस्थाको कार्यालय एउटा जीर्ण अवस्थाको भवनमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको हो ।

एउटै भवनमा धेरैवटा कार्यालय भएकाले काम गर्न असहज भएको स्वास्थ्यचौकी खार्पाका अहेव अमर खड्काले बताउनुभयो । “एकवटा कोठामा सबै काम गर्नुपर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो, “कार्यालयको काम त जसोतसो गरिन्थ्यो, प्रयाप्त ठाउँ नहुँदा उपचारमा आउने बिरामीलाई असहज भएको छ ।”

अहेव खड्काका अनुसार स्वास्थ्यचौकीमा दैनिक दशदेखि पन्ध्रजना बिरामी उपचारका लागि आउने गरेका छन् । पाँच कोठे दुई तला रहेको रावा बचत तथा ऋण सहकारी संस्थाको भवनमा चारवटा कार्यालय सञ्चालन गरिएको छ ।

भूकम्पले जिर्ण बनेको सहकारीको भवनमा जोखिम मोलेर काम गर्नुपर्ने अवस्था रहेको गाविस सचिव दिपक पोखरेलले बताउनुभयो । “भवन आफैमा पुरानो भइसकेको छ ।” उहाँले भन्नुभयो, “उसैमाथि गत वैशाख–१२ र २९ गतेको भूकम्पले चर्किएकाले जोखिम मोलेर काम गर्नुपर्ने अवस्था छ ।”

भवन अभावमा समस्या झेल्दै आएको स्वास्थ्यचौकीका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएको भएपनि भवन निर्माण भएको छैन । स्वास्थ्यचौकीको भवन निर्माणका लागि टेन्डर आव्हान भइसकेको जनाइएको छ ।

सचिव पोखरेलका अनुसार हुलाक र गाविसको कार्यालय सञ्चालन हुँदै आएको भवनमा हाल प्रहरीचौकी राखिएको छ । प्रहरीचौका लागि भवन निर्माण नभएसम्म गाविस र हुलाक कार्यालय अन्यत्र नै राख्नुपर्ने अवस्था छ ।

भवन अभावमा आफूहरुले खेप्नु परेको समस्याका बारेमा सम्बन्धित निकायले चासो नदिएको सेवाग्राहीले गुनासो गरेका छन् । आफूहरुलाई परेको असुविधाका बारेमा सम्बन्धित निकायमा पटकपटक जानकारी गराउँदासमेत हालसम्म सुनुवाई नभएको उनीहरुको आरोप छ ।