खोटाङ २२ पुस । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले ताजा जनादेशसहितको संसद ल्याउन आफूहरुले संसद अवरुद्ध गरेको बताउनु भएको छ ।

उनले नेकपा एमाले संसदप्रति नकारात्मक नरहेको बताउनुभएको छ । संविधान बनाउन एमालेको ठूलो भूमिका रहेको स्मरण गराउनुहुँदै प्रमुख सचेतक भट्टराईले संविधानले व्यवस्या गरेको संसदप्रति एमाले नकारात्मक नरहेको दाबी गर्नुभयो ।

एमाले पोलिटब्यूरो सदस्यसमेत रहनुभएका प्रमुख सचेतक भट्टराईले संविधानमा जनताका सबै हकअधिकार सुनिश्चित गरिएको पनि बताउनु भएको छ । “संसदप्रति नेकपा एमाले नकारात्मक होइन”, उहाँले भन्नुभयो, “२०७४ सालको जनादेशलाई बोक्न नसकेर केही नेताहरुले आफ्नो पदका लागि संसद बन्धक बनाउन खोजेकाले त्यो बेलाको संसद विघटन गरेर छ महिनाभित्र ताजा जनादेशसहितको संसद ल्याउन खोजेका हौँ ।”

प्रेस चौतारी नेपाल खोटाङले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख सचेतक भट्टराईले आफ्नो पार्टीले कारवाही गरेर निष्कासन गरेको व्यक्तिको नामावली सभामुखले टाँस नगरेसम्म संसद चल्न नदिने बताउनुभयो । “सभामुख एउटा पार्टीको कार्यकर्ताको भूमिकामा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “यदि सभामुखले उक्त व्यक्तिहरुलाई नहटाए राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्छ ।”

चुनावी प्रसङ्गमा बोल्नुहुँदै प्रमुख सचेतक भट्टराईले नेकपा एमाले सबै तहको चुनाव लड्न तयार रहेको जानकारी दिनुभयो । “गठबन्धनका दलहरु चुनावदेखि डराइरहेका छन्”, उहाँले भन्नुभयो, “एमाले गत वर्षको पुस–५ गतेदेखि नै चुनावको तयारीमा लागेको हो । अहिले सबै खालका, सबै तहका चुनाव लड्न तयार छ ।”