खोटाङ पुष–२, खोटाङबाट बैदेशिक रोजगारीमा गएर फर्किएका र जान तयार युवाहरु मिलेर गाउँमै सामुहिक रुपमा ब्यवसायिक कृषि शुरु गरेका छन् । वैदशिक रोजगारीमा गएर फर्किएका र जानलाई राहदानी बनाईसकेका लगायतका ४ जना युवाहरु मिलेर ब्यवसायिक रुपमा कुखुरा, सुंगुर, तथा बाख्रा पालनमा जुटेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवाहरुले गाँउमा बाँझिएका  जग्गालाई सदुपयोग गर्दै बाख्रा, कुखुरा, संगुर फर्म सञ्चालन गर्नका साथै नगदेबाली उत्पादनको तयारी गरेको छ । करिब ५ महिना अघि ब्यवसाय शुरु गरेका युवा समुहले बाख्रा, कुखुरा तथा सुंगुर फम बिस्तार गर्दै राँगा पालन र नगदे कृषिलाई समेत अघि ढाउने योजना बनाएका छन् । फर्मलाई उत्पादन र आाम्दानीमूलक बनाउन बिभिन्न योजना बनाईरहेको समुहका हेमन्त राईले बताउनुभयो ।
करिब २५ रोपनी जग्गामा समुहकै श्रम र स्थानीय श्रोतको उपयोग समेत गरी १५ लाख रुपैंंयाँ बढी लगानीमा फर्म शुरु गरिएको जनाईएको छ । फर्मबाट उत्पादित बस्तुलाई जिल्ला तथा काठमाण्डौं, धरान लगायतका शहरहरुमा खपत गराउने योजना रहेको बिनोद राईले जनाउनुभयो । हाल कुखुरा र सुंगुर बेच्न शुरु गरिएको राईले जानकारी दिनुभयो ।

बिदेश जादाँको कमाई र गाउमै श्रम गर्दाको कमाईको तुलना गर्दा गाउँकैले जित्ने हिसाब निस्किएकाले बैदेशिक रोजगारीको मनसाय त्यागेर सामुहिक कृषि व्यवसायको अवधारणा बनाईएको युवाहरुको भनाई छ । बैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने लगानी र त्याहाँ गर्नुपर्ने श्रम गाउँमै गर्ने हो भने आम्दानी, पारिवारिक तथा सामाजिक शुख, आनन्द, सुरक्षा, आत्मसन्तुष्टी लगायत हरेक हिसाबले फाईदा हुने बैदेशिक रोजगारीमा गई फर्कनुभएका यादब श्रेष्ठ बताउनुहुन्छ ।

गएको ४ महिनामा मात्र जिल्लाबाट बेदेशिक रोजगारीमा जानका लागि करिब १८ सय युवाहरुले श्रम स्विकृति लिएको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लाबाट बैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहे पनि गाउँमै स्वरोजगार बनेर आम्दानी बढाउनेहरुको संख्या पनि बढ्दो पाईएको छ । ।