काठमाडाैं २९ मंसिर । कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा विजयी भएका छन् ।
मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुन् । यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उनशि दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित थिए । देउवाले विजयीका लागि २ हजार ७३३ मत ल्याए । यस्तै शेखर कोइरालाले १ हजार ८५५ मत ल्याए भने ३५ मत बदर भएको छ । दोस्र‍ो चरणमा ४ हजार ६२३ प्रतिनिधिले मतदान गरेका थिए ।

कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो चरणमा ४ हजार ६६९ जनाले मतदान गरेका थिए । तर सभापतिका पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् ।

सबभन्दा धेरै मत पाएका देउवाले २ हजार २५८ र शेखरले १ हजार ७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेका थिए ।