नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा चार जना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । यही मङ्सिर–६ गते हुने सातौँ जिल्ला अधिवेशनका लागि पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्वसभापति विष्णुकुमार राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्रकुमार राई सभापति पदका लागि उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिनुभएको हो ।

सभापतिका आकाङ्क्षी चारै नेताले आ–आफ्नो प्यानल (समूह) खडा गरेर फरकफरक समयमा सामाजिक सञ्जाल फेसबुकमार्फत सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उम्मेदवारी घोषणा गरेका नेताहरुले आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन आपसी भेटघाट, सामूहिक जमघट, छलफल र बैठकलाई तीव्रता दिनुभएको छ ।

पूर्वराज्यमन्त्री सर्वधनको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना, सचिवमा रोजन राई र सहसचिवमा ध्यानबहादुर राईको नाम टुङ्गिएको छ । पूर्वसभापति विष्णुकुमारको प्यानलबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई, सहसचिवमा साजन राई र शालिकराम बञ्जराले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

महाधिवेशन प्रतिनिधि भूपेन्द्रको समूहबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सचिव श्यामकुमार राई र सहसचिवमा ध्यानबहादुर राईलाई अघि सारिएको छ । महासमिति सदस्य रविप्रकाशको भने प्यानल फाइनल हुन बाँकी छ ।

पूर्वराज्यमन्त्री सर्वधन र महाधिवेशन प्रतिनिधि भूपेन्द्रको प्यानलमा एक उपसभापति, एक सचिव र एक सहसचिवको पद भने रिक्त राखिएको छ । अन्य प्यानलसँग सहकार्य गर्ने रणनीतिस्वरूप केही पद रिक्त राखिएको समाचार स्रोतले बताएको छ ।

पूर्वराज्यमन्त्री सर्वधन र महाधिवेशन प्रतिनिधि भूपेन्द्र दुवै प्यानलको सहसचिवमा ध्यानबहादुरको नाम राखेको पाइएको छ । क्षेत्रीय कार्यसमिति (प्रदेश)को अधिवेशनको नतिजा हेरेर बाँकी पदमा फरक टिमसँग सहकार्य गर्ने योजनासहित पद रिक्त राखिएको पूर्वराज्यमन्त्री राईको प्यानलबाट सचिवका उम्मेदवार बन्नुभएका नेता रोजन राईले बताउनुभएको छ ।

क्षेत्रीय अधिवेशनपछि अन्य प्यानलसँग मिल्ने अवस्था आए सहकार्य गरिने चारवटै समूहका नेताहरुले बताएका छन् । “मिल्ने अवस्था आए रिक्त पदमा अन्य समूहका नेतालाई राखिन्छ, मिल्ने अवस्था नभए आफ्नै प्यानल तयार हुन्छ”, भूपेन्द्रको प्यानलमा रहनुभएका जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले भन्नुभयो, “अन्य समूहसँग सहकार्य हुने÷नहुने टुङ्गो भोलि हुने क्षेत्रीय कार्यसमितिको अधिवेशनपछि लाग्छ ।”

पूर्वराज्यमन्त्री सर्वधन र महासमिति सदस्य रविप्रकाश केन्द्रमा सभापति शेरबहादुर देउवासँग नजिक मानिनुहुन्छ । पूर्वसभापति विष्णुकुमार रामचन्द्र पौडेल र महाधिवेशन प्रतिनिधि भूपेन्द्र कृष्ण सिटौलासँग नजिक मानिनुहुन्छ ।

अहिले कांग्रेसको जिल्ला अधिवेशनमा प्रदेश (क)बाट ७०३ र (ख)बाट ७०३ गरी जम्मा जम्मा एक हजार ४०६ जना प्रतिनिधिको सहभागी हुनेछन् । तीमध्ये नेपाली कांग्रेसको विधानअनुसार जम्मा मतदाता सङ्ख्याको ५१ प्रतिशत अर्थात् ७१८ मत ल्याएमा मात्र जिल्ला सभापति हुन पाइन्छ ।

कांग्रेस स्रोतका अनुसार अहिले खोटाङमा देउवा र पौडेल पक्षका मतदाता कम रहेका छन् । देउवा–पौडेल पक्षका प्रतिनिधि गाउँ अधिवेशनमै धेरै छेकिएका छन् । अहिले सबै ठाउँबाट करिब ८० प्रतिशत प्रतिनिधि युवा आएका छन् । कोइराला समूहबाट जितेर आएका एक प्रतिनिधिले अबको अधिवेशनमा सभापतिलगायत पदाधिकारीको नेतृत्व युवाको काँधमा आओस् भन्ने रहेको बताएका छन् । रासस