कात्तिक–२८ खोटाङ
नेपाली कांग्रेसको सातौं जिल्ला अधिबेशनमा सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको कांग्रेस नेता भुपेन्द्र राईले पार्टी सुद्दिकरण र सुदृढिकरणका लागि आफ्नो आवश्यक्ता रहेको बताउनुभएको छ । आगामी मंसिर ६ गते तय गरिएको जिल्ला अधिबेशनका लागि औपचारिक रुपमै सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको राईले जाम भएको पार्टीलाई गतिशील बनाउन नयाँ पुस्ताको नयाँ नेतृत्व आवश्यक रहेको औंल्याउनुभयो ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट दिपु्रङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित राईले खोटाङबजारमा गत शुक्रबार भएको आफु पक्षीय नेता तथा कार्यकर्ताको भेलाबाट जिल्ला सभापतिमा उठ्ने घोषणा गर्नुभएको थियो । केन्द्रमा कृष्ण सिटौलासँग निकट मानिने राईको प्यानलवाट उपसभापतिमा चन्द्रबहादुर थापा, सह–सचिवमा ध्यानबहादुर राई, प्रदेश क्षेत्र (ख)को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा रामचन्द्र केसीलाई उम्मेदवार बनाउने तयारी गरिएको छ । अन्य पदमा उठ्ने उम्मेदवारको छिट्टै टुंगो लगाईने कांग्रेस दिपु्रङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले बताउनुभयो ।

यता, कात्तिक २३ र २४ हलेसीमा बसेको कांग्रेसकै एक पक्षको बैठकले पुर्व जिल्ला सभापति बिष्णुकुमार राईलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । पुर्व सभापति राई केन्द्रमा पौडेलसँग नजिक मानिन्छन् । उपसभापतिमा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराईलाई अघि सार्ने निर्णय भएको बैठकमा सहभागी कांग्रेस नेताले बताएका छन् ।
सचिवमा वर्तमान सचिव ज्ञानेन्द्र जोशी र समिर राईलाई उम्मेदवार बनाउने तयारी गरिएको छ । सचिवका अर्का आकांक्षी सुमनबाबु आचार्य भने पछि हटेका छन् ।

यस्तै, सह–सचिवमा सार्जन राई र बराहपोखरी गाउँपालिकाका अध्यक्ष रहेका शालिकराम बञ्जरालाई अघि सार्ने तयारी गरिएको जनाइएको छ । तर, सचिव र सह–सचिवको उम्मेदवारका विषयमा थप छलफल भइरहेको उपसभापतिका उम्मेदवार इवन राईले बताउनुभयो ।
यस्तै, कांग्रेसको जिल्ला सभापतिमा पुर्व राज्यमन्त्री सर्वधन राई र महासमिति सदस्य रबिप्रकाश राई पनि आकांक्षी छन् । पुर्व राज्यमन्त्री राईले यसअघि दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताउनुभएको छ । ।