कात्तिक–२८ खोटाङ
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको खोटाङबाट प्रतिनिधिको टुंगो लगाईएको छ । शनिबार एमाले खोटाङले विज्ञप्ति सार्वजनिक गर्दै महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो ।

आठ हजार ६ सय ६४ जना सङ्गठित सदस्य रहेको एमाले खोटाङले आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि एक दलितसहित १४ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरेको जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो । अध्यक्ष दंगालका अनुसार छनोट हुनेमा प्रदेश कमिटी सदस्य हरिकुमार पोखरेल, पाँचकर्ण (पीके) राई, उषाकला राई, खडेन्द्र साम्पाङ ईन्द्रप्रसाद दंगाल, पार्टी अध्यक्ष स्वयम रामप्रसाद दंगाल रहनुभएको छ ।

यस्तै, उपाध्यक्ष देवविक्रम राई, सचिव कुमारप्रसाद आचार्य, सचिवालय सदस्य चर्चबहादुर विश्वकर्मा, दीपनारायण रिजाल, दिलचक्र राई, विणादेवी राई, सदस्य गोमा मगर र पुष्पकला भुजेल रहनुभएको छ । प्रतिनिधि छनोट गर्दा भुगोल र जातका आधारमा चार महिला र एक जना दलितबाट छनोट गरिएको छ ।

महाधिवेशनका लागि केन्द्रीय कमिटीबाट मनोनित हुनका लागि सुरेन्द्रकुमार राई र दिलकुमारी राईलाई सिफारिस गरिएको एमाले खोटाङले जनाएको छ । जिल्ला ईन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक विशाल भट्टराई, जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र राई, केन्द्रीय अनुशासन आयोगका सदस्य कर्ण घले र नेपाल खेलकुद महासंका अध्यक्ष रमेश पौडेल स्वतः महाधिवेशन प्रतिनिधिमा छनोट हुनुभएको छ ।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न एमाले जिल्ला कमिटी खोटाङकोे बैठकले पार्टी कमिटी सचिवालयलाई जिम्मा दिएको थियो । ।