खोटाङ कात्तिक–८, खोटाङको दिक्तेलबजारस्थित अस्पतालचोकको एक घरमा तास खेलिरहको अवस्थामा पाँच युवा पक्राउ परेका छन् । आईतवार राति करिव एक बजेको समयमा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले ७१ हजार २० रुपैंयाँ नगद तथा ताससहित सोही घरमा डेरा लिई बस्ने साकेला गाउँपालिका–५ का २७ बर्षीय हिराधन राई लगायत पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

हिराधनले तास खेलाईरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएका प्रहरी टोलीले तासकै खालबाट पाँचै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर शाहले प्रेस विज्ञप्तीमार्फत उल्लेख गर्नुभएको छ । पक्राउ पर्नेमा सिद्दिचरण नगरपालिका, ओखलढुंगा घर भई साकेला गाउँपालिका–२ रतन्छा बस्ने २२ बर्षीय सौरब गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ खोटाङ नेर्पाका ३३ बर्षीय बसन्त राई, सोही नगरपालिका–७ दोर्पाका ३८ बर्षीय टिकाराम राई र कटारी नगरपालिका–११ उदयपुरका २४ बर्षीय खोमबहादुर क्याप्छाकी मगर रहेका छन् ।

कानुन बमोजिम पक्राउ पर्ने पाँचै जनालाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक शाहले जनाउनुभएको छ ।