खोटाङ  कात्तिक–८, हङकङलाई कर्मभूमि बनाएर पत्रकारिताका साथै विभिन्न सामाजिक क्षेत्रमा योगदान दिँदै आउनुभएका किसन राईको भीरबाट लडेर खोटाङमा मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ घर भइ हाल हङकङमा बसेर पत्रकारिताका साथै विभिन्नि सामाजिक संघ–संस्थामा क्रियाशील ५३ वर्षीय राईको आईतबार साँझ खोटाङस्थित पङ्खुखोला नजिकैको भीरबाट लडेर मृत्यु भएको हो ।

खोटाङबाट भोजपुर जानेक्रममा आइतबार साँझ करीब साढेँ पाँच बजेको समयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित पङ्खुखोला नजिकैको भीरबाट लडेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभयो । मृतक राई काठमाडौँको नागार्जुन नगरपालिका–२ बस्ने सशस्त्र प्रहरी बलका पूर्व प्रहरी उपरीक्षक (एसपी) प्रेम श्रेष्ठसँग घुम्न आउनुभएको बताईएको छ । दिक्तेलबाट भोजपुर जानेक्रममा दोर्पास्थित पङ्खुखोला नजिकै गाडीबाट ओर्लिएर सौच गर्न जानेक्रममा भीरबाट करीब दुई सय मिटर तल खस्दा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

हङकङबाट नेपाली भाषामा प्रकाशन हुने पत्रिका ‘एभरेष्ट साप्ताहिक’का प्रकाशक एवम् सम्पादक रहनुभएका मृतक राईको शव परीक्षणका लागि आइतबार राति नै जिल्ला अस्पताल दिक्तेलमा ल्याएर राखिएको छ । पत्रकार राईको शव हङकङबाट आफन्त आएपछि परीक्षण गरेर जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
पत्रकार राईको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो । पत्रकार राईको मृत्युपछि पूर्व एसपी श्रेष्ठ र चालकसहित तीनजनालाई जिल्ला प्रहरी कार्यालयमै राखेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । यद्यपि, उनीहरुलाई पक्राउ गरेर राखिएको नभएको प्रहरीको भनाई छ ।

मृतक पत्रकार राईसहितको टोली प्रदेश नं. २–०१–०२४ च ३८०२ नम्बरको निजी कार लिएर भ्रमणमा आउनुभएको बुझिएको छ । घटनापछि उहाँहरुले प्रयोग गर्नुभएको कारसमेत जिल्ला प्रहरी कार्यालय खोटाङमै राखिएको छ ।
पुख्र्यौली घर ओखलढुंगा भएको राई नेपाल पत्रकार महासंघ हङकङ शाखाका अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष लगायत संस्थामा रहेर क्रियाशील हुनुहुन्थयो । एनआरएन हङकङका पुर्व महासचिव, किरात राई यायोख्खाको सल्लाहकार लगायत अन्य बिभिन्न सामाजिक संघसंस्थामा समेत आबद्द रहनुभएको खोटाङ समाज हङकङका उपाध्यक्ष पेङ किरातले जनाउनुभयो ।

तक राईको दुई छोरा युकेमा र आमा तथा श्रीमति हङकङमै रहनुभएको छ ।।