खोटाङ कात्तिक–७, जिल्ला प्रशासन कार्यालय खोटाङमा सेवाग्राहीको चाप अधिक मात्रामा बढेको छ । दशैं–तिहारको अवसर पारेर जिल्ला भित्रिने नागरिकले प्रशासनिक कार्य समेत सुल्झाएर जाने योजना बनाउने हुँदा सेवाग्राहीको चाप बढेको हो ।

नागरिकताको परिचयपत्र बनाउने, राहदानीको सिफारिस लिने, राष्ट्रिय परिचयपत्र बनाउने तथा मतदाता नामावली संकलन गराउने कार्यका लागि हाल दैनिक दुई सय बढी सेवाग्राही प्रशासनमा आउने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । प्रजिअ शर्माका अनुसार धान्नै नसक्ने चाप भए पनि एक दिनभित्र कागजात पेश गर्ने सेवाग्राहीको कार्य साँझसम्म भए पनि सोही दिन सम्पन्न गरिदिने प्रयास भईरहेको छ ।

हाल बैदेशिक रोजगारीमा जाने युवादेखि देशभित्रका काठमाण्डौं लगायतका शहरहरुवाट जिल्लामा नागरिक जिल्ला भित्रिएका छन् । दशैं सकिए लगत्तै जिल्ला प्रशासन लगायत अन्य सरकारी कार्यालयहरुमा तुलनात्मक हिसावले सेवाग्राहीको भीड बढेको पाईन्छ ।।