खोटाङ, माघ–१२, नाकाबन्दीको नाममा व्यापारीले दैनिक उपभोग्य वस्तुमा उपभोक्ताबाट चर्को मुल्य लिने गरेको गुनासो आएपछि खोटाङमा दैनिक उपभोग्य वस्तुको मुल्य निर्धारण गरिएको छ । नाकाबन्दीको नाममा व्यापारीहरुले उपभोक्ताबाट चर्को मुल्य लिने गरेको गुनासो आएपछि उद्योग वाणिज्य संघ खोटाङले जिल्लामा दैनिक उपभोग्य वस्तुको मुल्य निर्धारण गरेको हो । 

संघले निर्धारण गरेको मुल्य अनुसार सोना मन्सुली चामल ग्रेडिङतर्फ प्रति केजी ६०, जिरा वास्मती चामल प्रति केजी ९० र कान्छी चामल प्रतिकेजी ४५ रुपैयाँ निर्धारण गरेको छ । यस्तै, ३५०, चिउरा ताईचिन प्रतिकेजी ६०, चिउरा तराई प्रतिकेजी ६०, चिनी प्रतिकेजी ८०, तोरी तेल (धारा खुकुरी) ५०० एमएलको  ८०, सनफ्लावर  र रिफाईन तेलको मुल्य ८० रुपैयाँ निर्धारण गरेको छ । 

आयोडिन नुन प्रतिकेजी ३०, जिरा मसला खुला प्रतिकेजी ४५०, ज्वानो खुला प्रतिकेजी ३५०, मेथी प्रतिकेजी २२०, धनियाँ प्रतिकेजी, चना प्रतिकेजी १६०, चाउचाउ (रमपम÷वाईवाई) प्रतिगोटा २०, बिस्कुट वटरनाइस प्रतिगोटा २०, बिस्कुट टेष्टी प्रतिगोटा १०, मुसुरी दाल प्रतिकेजी २०० र मटर दाना हरियोको प्रतिकेजी १०० रुपैयाँ मुल्य निर्धारण गरिएको संघका अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिनुभयो । “व्यापारीहरुलाई संघले निर्धारण गरेको मुल्य सूची सबै पसलमा टाँस्न निर्देशन दिइएको छ ।” उहाँले भन्नुभयो, “यदि कुनै व्यापारीले अटेर गरी मुल्य सूची नटाँसी मनपरी रकम असुलेको पाइएमा तत्काल कारबाही गरिने छ ।”

प्रशासनले नाकाबन्दीको नाममा भएका लापरवाहीलाई न्युनिकरण गर्न राखेको भेलामा दैनिक उपभोग्य वस्तुको मुल्य निर्धारण गर्ने निर्णय भएको थियो । उक्त भेलाले सवारी साधनको भाडा, डिजेल, पेट्रोल र ग्यासको मुल्य निर्धारण गरेको थियो ।