तजिना मगर/खोटाङ
असोज–२२, खोटाङका साहित्यकार श्रीराम राई पछिल्लो समय बाल साहित्य तथा लघुकथामा अलि बढी खेल्नुहुन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा सिर्जनाकुञ्जका राई साहित्यका सबै विधामा अव्बल रहेर पनि अलि बढी बाल साहित्य र लघुकथामा रमाउनुभएको हो ।

खोटाङबाटै नेपाली साहित्यमा स्थापित भई अहिले काठमाण्डौंमा साहित्यिक पत्रकारिता गरिरहनुभएको राईले हालै मात्र अर्को बालकथा संग्रह ‘पोलेको मकै’ पाठकमाझ ल्याउनुभएको छ । साहित्यकै सेरोफेरो फन्को मार्दै यसअघि नै यसअघि टोली नेता (बालकथा संग्रह–२०७४) सहित दुई वटा कृतिहरु प्रकाशनमा ल्याईसक्नुभएको श्रीराम फेरि ‘पोलेको मकै’ लिएर सार्बजानिक हुनुभएको हो ।

सर्जक राईको दोश्रो बालकथा संग्रह ‘पोलेको मकै’लाई बुक्स हिमालयले हालै साहित्य बजारमा ल्याएका छन् । उक्त सग्रहभित्र मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी उडुन्, पारुको पढाइ, र बुबाको एसएमएस सहित ७ कथाहरु संग्रहित छन् ।

सर्जक गङ्गा कर्माचार्य पौडेलको सम्पादनमा रहेको बालकथा संग्रहको आवरण चित्र राजकुमार प्रजापतिको रहेको उल्लेख छ । ९९ सय रुपैयाँमा पाईने ‘पोलेको मकै’को बजार व्यवस्थापन हिमालय म्याप हाउस प्रालिले गरेको छ । पहाडी भेगका विषय बस्तुलाई चाख लाग्दो ढंगले प्रस्तुन गरिएको उक्त कृति विद्यालय तहका सबै विद्यार्थीहरुका लागि उपयोगी हुने सर्जक राईको भनाई छ ।

बालकथा संग्रह ‘पोलेको मकै’मा बालमनोविज्ञानलाई ध्यान दिइएको छ । कथाहरु रमाइलाका साथै शिक्षामूलक रहेको प्रकाशकको दावी छ ।

फुटकर रचनाहरुमार्फत समेत पाठकका नजरमा र मनमा छाईरहने सर्जक राईको यसअघि लघुकथा (संयुक्त लघुकथा संग्रह–२०७४) समेत प्रकाशित छन् ।

बिभिन्न साहित्यिक अभियान तथा आन्दोलनमा निरन्तर सरिक भईरहनुहुने श्रीराम राई बिभिन्न साहित्यिक संघ/संस्थामा समेत सक्रिय हुनुहन्छ । राईले बाल साहित्य र लघुकथा मात्र नभई कविता, गीत, गजल, मुक्तक लगायतका साहित्यका अन्य विधामा समेत उत्तिकै कलम चलाउनुहुन्छ । ।