खोटाङ असोज–१८, खोटाङको विभिन्न स्थानमा टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालनमा आएको छ । नेपाल टेलिकमले विभिन्न १८ स्थानमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि जिल्लाबासी हर्षित बनेका छन् ।
जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा दिक्तेलस्थित टेलिकमको कार्यालय लगायतको स्थानमा टावर सञ्चालन गरेको हो ।

हाल, दिक्तेलबजारको रत्नपार्क, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, सिम्पानी, खोटाङबजार, सावाकटहरे, चिसापानी, बराहपोखरी, मात्तिमबिर्ता, खिदिमा, बाँझेच्यानडाँडामा टावर सञ्चालन गरेको हो । यस्तै, दोर्पाबुवालुङ, फेदी बाक्सिला र बुइपामा जडान गरिएको टावर सञ्चालनमा आएको नेपाल टेलिकम खोटाङका कार्यालय प्रमुख खगेन्द्र मगरले बताउनुभयो । अन्य स्थानमा समेत चाँडै सञ्चालनमा ल्याउे तयारी गरिएको छ ।

नमस्ते मोबाइलका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै टेलिकमले गत आर्थिक वर्ष जिल्लाका २८ स्थानमा टेलिफोन टावर जडानको काम थालेको थियो । निर्माणाधीन अवस्थामा रहेका बाँकी दशवटा पनि चाँडै सञ्चालन गर्ने तयारी गरिएको प्रमुख मगरले जनाउनुभयो ।

नेपाल टेलिकमले जिल्लामा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि अधिकांश भेगका सेवाग्राही लाभान्वित भएका छन् ।

जिल्लामा इन्टरनेट सेवालाई समेत प्रभावकारी बनाउन पहल थालेको टेलिकमले पछिल्लो समय फाइबर विस्तारको कामसमेत तीव्रगतिमा अगाडि बढाएको छ ।

इन्टरनेट सेवा प्रभावकारी नहुँदा सबैभन्दा बढी बैङ्क तथा वित्तीय संस्था र जिल्लामा क्रियाशील सञ्चारकर्मी मारमा परेका छन् ।