खोटाङ, माघ २३ । खोटाङमा कांग्रेस संस्थापनपक्ष बलियो देखिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लाको दुबै क्षेत्रमा संस्थापन पक्ष मजबुद देखिएको हो ।

सहमती जुट्न नसक्दा दुबै क्षेत्रमा क्षेत्रीय समिति, महाधिबेसन प्रतिनिधि लगायत सबै पदमा निर्वाचन भएको छ । क्षेत्र नम्बर–१ को शुक्रबार भएको निर्वाचनमा संस्थापन पक्षका ईवन राई २१ मत बढि ल्याएर क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । ईवनले १८५ मत ल्याए भने उनका प्रतिद्धन्द्धी मनोज तिम्सिनाले १६४ मत ल्याएका छन् । सचिवमा १९९ मत ल्याएर ईश्वर राई निर्वाचित भए । उनका प्रतिद्धन्द्धी यानकुमार राईले १३३ मत ल्याएको कांग्रेसले जनाएको छ । निर्वाचनमा कोषाध्यक्ष खड्गबहादुर बस्नेत (१७८) ले प्रतिद्धन्द्धी रुद्रबहादुर बस्नेत (१३६) लाई पछि पारेका छन् ।ईश्वर र खड्गबहादुर संस्थापनकै टिमबाट विजयी भएका हुन् ।

क्षेत्रीय समितिका सदस्यहरुमा उद्धव राई, हर्कराज राई, ईश्वर श्रेष्ठ, बालकुमार राई, कुमार पुरी, धनकुमार राई, सारदादेबी बन, केशव श्रेष्ठ, ज्ञानबहादुर पाण्डे निर्वाचित भए । उनीहरुमध्ये ५ संस्थापन र ४ जना देउवापक्षका रहेको श्रोतले जनाएको छ ।

क्षेत्र नम्बर–१ बाट महाधिबेसन प्रतिनिधिमा खुल्लातर्फ जिल्ला सभापतिका प्रत्यासी नरेशकुमार श्रेष्ठ, सर्वधन राई, सुवाश पोखरेल, दिनेश राई, बीरकाजी राई जितेन्द्र ठकुरी निर्वाचित भएका छन् । उनीहरुमध्ये नरेश, दिनेश र जितेन्द्र संस्थापन तथा सुवास, सर्वधन र बीरकाजी देउवा पक्षका हुन् । यस्तै, जनजातीतर्फ डा. राजकुमार राई, महिलातर्फ सरस्वती बजीमय र बिमला राई, दलिततर्फ प्रकाश बिश्वकर्मा र अपांगमा पदम निरौला महाधिबेसन प्रतिनिधि छानिएका छन् ।

यस्तै, शनिबार गरिएको मतगणना अनुशार संस्थापनपक्षका तिर्थ भट्टराई २३३ मत ल्याएर क्षेत्र नम्बर–२ को सभापति निर्वाचित भएका छन् । भट्टराईका प्रतिद्धन्द्धी महेन्द्र कट्वालले १०६ मत ल्याए । क्षेत्रीय सचिवमा तारामान राईले १७१ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिद्धन्द्धी राम सामपाङले १५० मत ल्याए । कोषाध्यक्षमा यल्जिना राईले अनिता राईलाई हराए । क्षेत्रीय सदस्यहरुमा पनि एक जनाबाहेक अन्य संस्थापन पक्षकै रहेको बताइएको छ ।

क्षेत्र नम्बर–२ बाट खुल्लाबाट महाधिबेसन प्रतिनिधिमा बिष्णुकुमार राई (२२१), रबिप्रकाश राई (१९८), केशव कार्की (१८०), भूपेन्द्र राई (१७८), अटलशेर राई (१७३) र शिबकुमार बस्नेत (१५६) छानिए । जनजातीतर्फ सहरमान राई (१४७), महिलातर्फ हिरा गुरुङ (१८८) र कमला राई (२०६), दलितमा चन्द्र बिश्वकर्मा (१४८) र अपांगमा रामकुमार श्रेष्ठ (१४४) महाधिबेसन प्रतिनिधिमा निर्वाचित भएका छन् । शिबकुमार, भूपेन्द्र, रबिप्रकाश, कमला देउवा पक्षका हुन् । अन्य महाधिबेसन प्रतिनिधि संस्थापनपक्षका हुन् ।