खोटाङ, २५ माघ । नेपाली काँग्रेस खोटाङको सभापतिमा नरेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । संस्थापन पक्षका श्रेष्ठले देउवा पक्षका उम्मेदवार वीरकाजी राईलाई २३८ मतले पछि पार्दै सभापतिमा विजयी हुनुभएको हो ।
श्रेष्ठले ४६३ मत ल्याएर सभापतिमा विजयी हुनुभएको हो भने, उहाँका प्रतिद्धन्दी राईले २२५ मत ल्याउनुभएको छ । सोमबार बेलुका सम्पन्न काँग्रेसको छैटौं जिल्ला अधिवेशनमा सभापतिसँगै सबै पदमा संस्थापन पक्षको जित भएको छ ।
निर्वाचन मण्डलले दिएको जानकारी अनुसार सचिवमा संस्थापन पक्षका ईच्छु रानामगर कोषाध्यक्षमा सोही पक्षका जीवन राई विजयी हुनुभएको छ । रानामगरले रोजन राईलाई २२५ मतले र राईले मनिकुमार तामाङलाई २१० मतले पछि पार्दै सचिव र कोषाध्यक्षमा विजयी हुनुभएको हो । रानामगरले ४४२ मत ल्याउनुभएको छ भने, राईले ३९१ मत ल्याउनुभएको निर्वाचन अधिकृत ईश्वर सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सदस्यहरुमा क्षेत्र नम्बर–१ बाट भक्तजङ्ग राई, समिर राई, ज्ञानेन्द्र जोशी, चक्रकुमार राई, राजनशेर राई, भगवति निरौला, डिल्लीकुमारी आचार्य, सन्तवीर तामाङ, तुलाराम विश्वकर्मा र उमेश आचार्य विजयी हुनुभएको छ ।
यस्तै, क्षेत्र नम्बर–२ बाट दिनशेकुमार घिमिरे, प्रेमकुमार राई, नवराज केसी, शालिकराम बञ्जारा, वसन्त राई, बद्री थापा, कान्ता केसी बस्नेत, ललिता राउत, सन्देश राई र कर्ण विश्वकर्मा विजयी बन्नुभएको छ ।
महासमिति सदस्यमा विष्णुकुमार राई, हिरा गुरुङ, रविप्रकाश राई, केशवराज कार्की र कमला राई विजयी हुनुभएको छ । विष्णुकुमार पूर्व जिल्ला सभापति हुनुहुन्छ भने, गुरुङ पूर्व सभाषद् हुनुहुन्छ ।
देउवा पक्षमा धेरै आकांक्षी रहेको र अन्त्यमा उम्मेदवारी टुङ्गो लगाइएकाले सबै पदमा संस्थापन पक्षको जित भएको बताइएकोे छ । देउवा पक्षबाट यसअघि सुवाशकुमार पोखरेलले उम्मेदवारी दिने घोषणा गरेपनि अन्तिममा फिर्ता लिएका थिए ।