खोटाङ, २६ माघ । राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त गोविन्द शर्मा पौडेलले मानव अधिकार उलङ्घनका घटनामा संलग्नलाई कारबाहीका लागि आयोगले सरकारलाई सिफारिस गरेका मुद्दा कार्यान्वयन गराएरै छाड्ने बताउनुभएको छ ।
विभिन्न समयमा भएका गम्भीर प्रकृतिका मानव अधिकार उलङ्घनका घटनामा संलग्नलाई कारबाही गर्न आयोगले सरकारलाई सिफारिस गरेका मुद्दा कुनैपनि हालतमा कार्यान्वयन गराएरै छाड्ने उहाँले बताउनुभएको हो ।
खोटाङको दिक्तेलमा मङ्गलबार आयोजित कार्यक्रममा बोल्दै उहाँले देशमा राजनीतिक अस्थिरताका कारण धेरै मानव अधिकार हनन् भएको बताउनुभयो । “आयोगले देख्न, सुन्न र अनुभूती गर्न सकिने किसिमको मानव अधिकार हुनुपर्छ भन्ने रणनीति लिएको छ ।” उहाँले भन्नुभयो, “त्यसैले आयोगबाट सरकारलाई गरिएका सबै सिफारिस कार्यान्वयन गराएरै छाड्ने छौं ।”
आयोगले दिक्तेलस्थित जिल्ला विकास समितिको सभाहलमा मानव अधिकारको राष्ट्रिय कार्ययोजना र कार्यान्वयनको अवस्था विषयक छलफल कार्यक्रमको आयोजना गरेको थियो । छलफल कार्यक्रममा सहभागीले जिल्लाबाट आयोगले सरकारलाई सिफारिस गरेका मुद्दा कार्यान्वयन नभएको गुनासो गरेका थिए ।
छलफल कार्यक्रममा जिल्ला न्यायाधिस चण्डीप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्का, सुरक्षा निकाय, कार्यालय प्रमुख, राजनीतिक दल, पत्रकार, सरोकारवाला नियकाय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीले जिल्लाको मानव अधिकारको अवस्था र उलङ्घनका घटनाका विषयमा आयुक्त पौडेललाई जानकारी गराएका थिए ।