खोटाङ असोज–११, खोटाङको प्रसिद्द त्रिधामिकस्थल हलेसी नजिकै रहेको अर्को त्रिधार्मिकस्थल महादेव बुक्टो अर्थात सत्यश्वर महादेव गुफा चर्चामा आउन सकेको छैन । परापूर्वकालदेखि हिन्दु, बौद्द तथा किरात समुदायले आस्था मान्दै आएको उक्त क्षेत्रस्थित आकर्षक तथा आश्चर्यजनक गुफाहरु प्रचारप्रसारको अभावमा चर्चामा आउन नसकेको हो ।
हलेसीबाट करिब तीन किलोमिटर दुरीमा पर्ने हलेसी तुवाचुङ नगरपालिका–३ मंगलटारको घुर्चुमा रहेको उक्त महत्वपुर्ण धार्मिक तथा पर्यटकीयस्थलको उचित संरक्षण तथा प्रवद्र्दन समेत हुन नसकेका स्थानीयको भनाई छ । सत्यश्वर गुफालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिने प्रचुर सम्भावनाहरु रहेको गुफा व्यवस्थापन समितिका अध्यक्ष टीकाराम राईले बताउनुभयो । सत्यश्वर महादेव गुफा अर्थात महादेव बुक्टो क्षेत्र प्राकृतिक हिसाबले समेत सुन्दर रहेको अध्यक्ष राईको भनाई छ ।
सत्यश्वर महादेव गुफाका चट्टानमा हिन्दु धर्मालम्बीको महादेव, पार्वती, कृष्ण, हनुमान लगायतको प्राकृतिक आकृति रहेका छन् । अर्को गुफामा बौद्ध धर्मालम्बीको आस्थाको प्रतिक छ्योर्तेन (माने), बोधीचित्तको दाना, गुरु रिम्पोचेको पदचापको मुर्ति र निशानासमेत रहेको देखिने स्थानीय सुनाउँछन् ।
यस्तै, सोही ठाउँको महादेव गुफामा किरातीहरुको मुलदेवताको प्रतीक तीन चुल्हो(नागेलुम) र साकेलाको प्रतिक नागथान समेत रहेको छ । उत्तरतर्फ फर्केको पहारामा अवस्थित गुफा वरिपरि स–साना गुफाहरुमा विभिन्न देवीदेवताहरुको स्वरुप मिल्ने आकृतिहरुसमेत देख्न सकिन्छ ।
सो स्थलमा तीनै धर्मका साधक तथा ठूला–ठूला धार्मिक गुरुहरु तथा देशविदेशका धर्मवालम्बीहरुले साधना गर्ने गरेको बताईएको छ ।
गुफाको आसपासमा हुुनुमानले उचालेको हिमालय पर्वत, कृष्णको बाँसुरी, जोर मादल, कामुधेनु गाईको दूध, बोधीचित्तको दानाहरु, गुरु रिम्पाचेको पदचिन्ह, जल बिहार गर्ने कर्कटको आसन जस्ता आकृति हेर्न पाइन्छ ।
नागथानका रुपमा चिनिने उक्त गुफाको बीचमा रहेको अर्को गुफाभित्र शिवजीले धारण गर्ने गोमन सर्पको फना खोलेको शिर छ । यस्तै पानीको मुहानबाट कोशीतर्फ लम्कदै गरेको नागको अर्को आकार देख्न सकिन्छ ।
गुफाभित्र केही अफ्ठ्यारो तर, प्वालबाट हेर्दा नागेलुम लुकेर बसेकी छन् । कुनै बेला महादेव शिव कैलाश पर्वतबाट बृखाशुर नामक राक्षससँग भाग्दै आउँदा दूधकोशीको जयरामघाट स्थानीय राई भाषामा (वारीपुङ) आएका र त्यसपछि भाग्दै आउने क्रममा सत्यश्वर गुफामा एक रात लुकेर बसेको किंबदन्ती छ ।
सत्यश्वर गुफामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएपछि गुफा वरिपरि पदमार्ग निर्माण गर्न नगरपालिकाले गत वर्ष दश लाख रुपैंयाँ बजेट विनियोजन गरेको थियो । धार्मिक पर्यटकको प्रचुर सम्भावना रहेको घुर्चुको सत्यश्वर गुफा स्तरोन्नतिका लागि हलेसी महादेव विकास समितिबाट दुई लाख बजेट प्राप्त भएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष नीरकुमार राईले जनाउनुभयो ।
बिश्वप्रसिद्द हलेसीमा मेला लाग्ने हरेक तिथिमा सत्यश्वर महादेव गुफामा पनि मेला लाग्ने गर्दछ ।।