खोटाङ, ३ फागुन । मूलुकभरका अलैंची व्यवसायीको छाता संस्था नेपाल अलैंची व्यवसायी महासङ्घको दोश्रो महाधिवेशन खोटाङको हलेसीमा सुरु भएको छ । ‘कृषि वस्तुको पहिचान, हाम्रो साझा अभियान’ भन्ने नारासहित महासङ्घको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेसन सोमबारबाट सुरु भएको हो ।
हलेसीस्थित होटल हलेसी भिलेजको सभाहलमा आयोजना गरिएको महासङ्घको अधिवेशन नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष सुरज वैद्य र विशिष्ट सदस्य भाष्कर राजकर्णीकारले उदघाटन गर्नुभएको छ । अधिवेशनले नयाँ नेतृत्व चयनसँगै हरेक जिल्लामा उत्पादित अलैंचीलाई प्याकेजिङ, लेबलिङ र बजारीकरणका विषयमा रणनीति तयार गर्दै सकिने अलैंची व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रकुमार घिमिरेले बताउनुभयो ।
निर्वाचन नभए अधिवेशन मंगलबार समापन हुने आयोजकले जनाएको छ । अधिवेशनमा १३ जिल्लाका पाँच÷पाँच जना र संस्थापक केन्द्रीय समितिकागरी १५० प्रतिनिधिको सहभागिता रहेको छ ।
अधिवेशनमा सहभागिताका लागि खोटाङ बाहेक ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, ते¥हथुम, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, दोलखा, काभ्रे, गोरखा र लमजुङका अलैंची व्यवसायी हलेसीमा आइपुगेका छन् । द्धन्द्धका कारण उत्पादन भएका कृषि उपजलाई बजार पु¥याउने माध्यमको अभाव झेलीरहेका किसानको सहयोगका लागि २०६४ सालमा अलैंची व्यवसायी महासङ्घ गठन गरिएको हो ।
मूलुकका २२ भन्दा बढी जिल्लामा अलैंची खेती हुँदै आएपनि महासङ्घले हालसम्म १३ जिल्लामा मात्र आफ्नो शाखा बिस्तार गर्न सफल भएको छ । अधिवेशनमा सहभागी अलैंची व्यवसायीले रोग, सुकाउने भट्टी, संकलन केन्द्र, चन्दा लगायतका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । मसलादार बाली मानिने अलैंची वि.सं. १८३० को दशकमा सिक्किमबाट बिरुवा ल्याएर ईलामको जोगमाईमा खेती सुरु गरिएको मानिन्छ ।
झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको महासङ्घका ११ सयभन्दा बढी सदस्य तथा मूलुकभर एक लाख बढी अलैंची किसान छन् । आम्दानीका हिसाबले नेपालमा सबैभन्दा बढी मुल्य पर्ने र धेरै मात्रामा निर्यात हुने बालीकारुपमा रहेको अलैंची खेतीतर्फ किसानका आकर्षण बढ्दो रहेको छ ।
कार्यक्रममा महासङ्घका अलैंची व्यवसायी महासङ्घका सल्लाहकार सन्तोष खतिवडा, उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालु, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राई, अलैंची व्यवसायी सिन्धुपाल्चोकका अध्यक्ष रेमश साउद, अलैंची व्यवसायीकातर्फबाट राजकुमार कार्की लगातले शुभकामना मन्तव्य दिएका छन् । अधिवेशन उद्घाटनअघि महासङ्घका पदाधिकारी एवम् प्रतिनिधिलाई  उद्योग वाणिज्य सङ्घ र अलैंची व्यवसायी सङ्घले स्वागत गरेको थियो ।
यसैबिच, नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष सुरज वैद्यले देशको आर्थिक उन्नतिका लागि मूलुकका साना तथा मझौला व्यवसायीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभएको छ ।
खोटाङको हलेसीमा आयोजना गरिएको नेपाल अलैंची व्यवसायी महासङ्घको दोश्रो महाधिवेशन सोमबार उद्घाटन गर्दै वैद्यले देशमा क्रियासिल साना तथा मझौला उद्योगी व्यवसायीलाई प्रोत्साहित नगरेसम्म मुलुकको आर्थिक उन्नतिले गति लिन नसक्ने बताउनुभएको हो ।
उद्यमीलाई भोट बैंककारुपमा मात्र प्रयोग गर्ने गरिएका कारण अशल कृषक बन्न चाहनेले पनि प्रगति गर्न नसेकको उहाँले उल्लेख गर्नुभयो । “नेताले किसानको कुरा सुन्नै चाहँदैन ।” उहाँले भन्नुभयो, “नेताहरुको दूर दृष्टि नभएकै कारण कृषि लगायत निजी क्षेत्रको अपेक्षित विकास हुन नसकेको हो ।”
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका विशिष्ट सदस्य भाष्कर राजकर्णीकारले सरकारी उदासिनताका कारण निजी क्षेत्रको प्रगती हुन नसकेको बताउनुभयो । “कृषि क्षेत्रमा लगानी नगरेसम्म देशको आर्थिकस्तर वृद्धि हुँदैन ।” उहाँले भन्नुभयो, “यसप्रति सरकार गम्भीर हुनुपर्छ ।”