खोटाङ, ६ फागुन । खोटाङको बाक्सिलामा जारी निर्वाचन क्षेत्र स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा बिहिबार एथ्लेटिक्सतर्फ १३ बिद्याको खेल सकिएको छ । फागुन–२० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने जिल्ला स्तरिय राष्ट्रपति कपमा सहभागी हुने खेलाडी छनौटकालागि क्षेत्र नम्बर–१ को बाक्सिलामा एथ्लेटिक्सतर्फ, दौड, सटफुट, ज्याभलिन थ्रो, लङजम्प लगायतका बिद्याका खेलाडी छनौट गरिएको जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।

पृथ्बी उच्च माबिमा बुधबारदेखि निर्वाचन क्षेत्र स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको हो । प्रतियोगीता शुक्रबारसम्म सञ्चालन हुने जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख लिलाभक्त केसीले जानकारी दिनुभयो । १५ सय मिटर दौडमा छात्रातर्फ पुथ्बी उच्च माबि बाक्सिलाकी दिर्पा बस्नेत र छात्रतर्फ सउमाबि दिक्तेलका मिलन राई प्रथम हुनुभएको छ । एकसय मिटर दौडमा छात्रातर्फ पृथ्बी उमाबि बाक्सिलाका प्रकाश श्रेष्ठ र छात्रातर्फ सोही बिद्यालयका समला राई, चार सय मिटर दौडमा छात्रतर्फ प्रकाश श्रेष्ठ र छात्रातर्फ सर्मिला कार्की प्रथम हुनुभएको छ । 

यस्तै, सटफुट छात्रातर्फ पृथ्बी उच्च माबिका अनिश्मा राई र छात्रतर्फ थर्पुडाँडा माबि सप्तेश्वरका सुरकर्ण राई प्रथम, ज्याभलिन थ्रोमा छात्रातर्फ सरस्वती उच्च माबि दिक्तेलका आदित राई र छात्रातर्फ पृथ्बी उच्च माबिका बिनिता राई, लङजम्प छात्रातर्फ बिनिता राई र छात्रतर्फ प्रकाश श्रेष्ठ प्रथम हुनुभएको खेलकुद समितिले जनाएको छ । शुक्रबार हाईजम्प, त्रिपल जम्प, तीन हजार मिटर दौड, भलिबल र कबर्डी प्रतियोगीताको छनौट खेल हुने कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो ।

यस्तै, क्षेत्र नम्बर–२ मा खोटाङबजारमा फागुन–९ गतेदेखि ११ गतेसम्म निर्वाचन क्षेत्र स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता गर्न लागिएको खेलकुद बिकास समितिले जनाएको छ । प्रतियोगीतामा तेक्वान्दो, सितोरियो कराँते, भलिबल, एथ्लेटिक्स र कबर्डीमा जिल्लाका ८४ सरकारी र २ निजी माबिका बिद्यार्थीको सहभागीता रहने जिल्ला खृलकुद बिकास समितिका अध्यक्ष माईतीराज राईले बताउनुभयो । निर्वाचन क्षेत्र स्तरिय प्रतियोगीताबाट छनौटमा परेका खेलाडीले जिल्ला स्तरिय प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन् । निर्वाचन क्षेत्र स्तरिय प्रतियोगीताबाट प्रथम, दोश्रो र तेश्रो बाहेक शान्त्वना स्थान प्राप्त गरेका खेलाडीलाई छनौट गरिन्छ । गत वर्ष क्षेत्र नम्बर १ बाट १० र क्षेत्र नम्बर २ बाट ७ बिद्यालयको सहभागीता रहेको राष्ट्रपति कपमा यसपल्ट बिद्यालयको सहभागीता बढाउने अध्यक्ष राईले दाबी गर्नुभयो ।