शुक्रबार बेलुका अचानक विद्युत सर्ट भएर आगलागी भएपछि तामाङवस्ती रहेको पिपलडाँडाका नौं घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । आगालागीमा परी रत्नकुमार तामाङ, बलबहादुर तामाङ, सीतामायाँ तामाङ, अविराज तामाङ, लक्षुमान तामाङ, लालबहादुर तामाङ, मणिराज तामाङ, झिल्के् तामाङ र चुच्चे तामाङको घर जलेर नष्ट भएको छ ।
अचानक लागेको आगोले ४५ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रनाउ माझीले जानकारी दिनुभयो । विद्युत सर्ट भएर लागेको आगो बेलुकी साँढे सात बजेमात्र स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
आगलागीबाट रत्नकुमारको आठ लाख, बलबहादुरको आठ लाख, सितामायाँको चार लाख बराबरको क्षति भएको छ । यस्तै, अविराजको घर जल्दा चार लाख, लक्षुमान, पाँच लाख, लालबहादुरको तीन लाख, मणिराजको पाँच लाख, झिल्केको चार लाख र चुच्चे तामाङको चार लाख क्षति भएको प्रहरीले जनाएको छ ।
आगालागीमा परी घरमा भएका नगद, सुनचाँदी, खाद्यान्न, लत्ताकपडा, काठपात लगायत जलेर नष्ट भएपछि तामाङ परिवार बिचल्लीमा परेका छन् । उनीहरु छिमेकीकामा आश्रय लिएर बसीरहेका प्रहरीले जनाएको छ ।