खोटाङ, फागुन १३ । खोटाङको बतासे–४ का नरबहादुर भुजेलले ७१ वर्षको उमेरमा नागरिकता पाएका छन् । सदरमुकाम दिक्तेल तथा बिभिन्न समयमा गाउँम सञ्चालन गरिएका घुम्ती शिबिरसम्म पुग्न नसक्दा हालसम्म नागरिकताबाट बञ्चित भुजेलले बुधबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

७१ वर्षको उमेरमा नागरिकता लिँल नरबहादुर भुजेल । 

नापी कार्यालयको फिल्डबुकमा उल्लेख भएको जन्म मितीका आधारमा प्रशासनले उनलाई नागरिकता दिएको हो । निर्वाचन कार्यालयको मतदाता नामावलीमा भने उनको जन्म मिती १९९३ साल उल्लेख छ । उनले आफुलाई भने १९९२ सालमा जन्मिएको दाबी गर्छन् । आर्थिक क्षमताले सदरमुकामसम्म पुग्न नसक्ने भुजेललाई नागरिकता दिलाउनकालागि आफन्तको समेत चासो नपुगेकाले सहयोग गरेको बिश्वकर्माले बताए । हाल उनी श्रीमती गगामायाँसँग ससुरालीको जग्गा कमाएर जीवन निर्वाह गर्दैआएका छन् । भुजेल दम्पत्तीको एक्लो सन्तान छोरी देबीको पनि ११ वर्षअघि नै मृत्यु भइसकेको छ । नाजुक आर्थिक अवस्था सुधार गर्ने सपनामा भुजेलले भारतको आसाम डिम्मापुरमा उखु खेतीको रेखदेखमा ३२ वर्ष बिताएका थिए । तर, अन्तिममा मालिकले बिनापारिश्रमिक पठाएको उनी बताउँछन् । ‘एउटा कार्यक्रममा नरबहादुरलाई भेट्दा नागरिकता नपाएको भन्दै रोएका थिए, त्यसबेला दिक्तेल आउनु सहयोग गर्छु भनेको थिएँ,’ बिश्वकर्माले भने, ‘अरु नभएपनि नागरिकताले बुढेस कालमा बृद्धभत्ता पाउने बाटो बनेको छ ।’